लेखक: गंगा लामीटारे

पाइलोट बनेकी माया

धेरै पर, डाँडाकाँडा र खोलानाला पारी एउटा हरियाली गाउँमा चन्द्रे नामको सानो केटो बस्थ्यो। ऊ साह्रै चञ्चल र सपना देख्ने बालक थियो । सबैभन्दा अनौठो कुरा के भने—चन्द्रे सधैं चन्द्रमामा जान चाहन्थ्यो।

प्रत्येक रात ऊ आकाश हेरेर भन्थ्यो, "ओ चन्द्रमा ! म एक दिन तिमी कहाँ आउनेछु है!"

सबैजना उसको कुरा सुनेर हाँस्थे। उसकी आमा हाँस्दै भन्थिन्, "पहिले दूध पिउ, अनि मात्र चन्द्रमामा जानु ।"

एक रातको कुरा हो—चन्द्रेले सुत्नु अघि चन्द्रमालाई हेरेर फेरि त्यही कुरा दोहोर्‍यायो।

"चन्द्रमा दाइ! मलाई चन्द्रलोक लैजाने?" अचम्म!

सुत्दा-सुत्दै एउटा उज्यालो प्रकाश झल्झली चम्कियो, र आँखा खोल्दा उसले आफूलाई चन्द्रमाको रकेभित्र पायो ! चन्द्रे छक्क पर्यो । अगाडि, सेतो दाह्री भएका एउटा बूढोजस्तो मानिस मुस्कुराउँदै उभिएका थिए।

"तिमी को हो?" चन्द्रेले डराउँदै सोध्यो। "म चन्द्रमानव हुँ," ती बूढा बोले, "र तिमीले धेरैपटक चन्द्रमामा जान चाह्यौ, हैन? त्यसैले आज म तिमीलाई चन्द्रलोक लैजाँदैछु।"

रकेट उड्यो—प्याँ प्याँ गर्दै—गगन चुम्बी !

बादल, तारा, ग्रहलोक पार्गर्दै उ पुग्यो चन्द्रलोकमा!

चन्द्रलोक बिल्कुलै अनौठो थियो—हावा नभएको, तर गफ गर्न सकिने, पृथ्वीभन्दा हल्का गुरुत्वबल भएको, जसले गर्दा चन्द्रे हामफाल्दा फुस्स फुस्स उड्थ्यो!

त्यहाँका बच्चाहरू चन्द्रकन्या र चन्द्रपुत्र थिए। उनीहरूले चन्द्रेलाई स्वागत गरे। चन्द्रे उनीहरूलाई पृथ्वीको बारेमा बताउँथ्यो, र उनीहरू चन्द्रलोकका रमाइला खेलहरू सिकाउँथे—जस्तै "उड्ने लुगा", "धूलो स्केटिङ", र "तारालाई स्पर्श गर!"

तर एकदिन चन्द्रेले पृथ्वी हेर्दै सम्झियो—आमा, बुबा, साथीहरू र स्कूल। ऊ चुपचाप भयो।

चन्द्रमानवले सोधे, "के भयो चन्द्रे?"

चन्द्रेले भन्यो, "अब म घर फर्कन चाहन्छु।"

त्यसपछि फेरि रकेट तयार गरियो। चन्द्रेले सबै चन्द्रलोकका साथीहरूलाई अंगालो हाल्यो, अनि वाचा गर्‍यो, "फेरि आउँछु!"

पुनः एउटा उज्यालो प्रकाश चम्कियो… र चन्द्रेले आफूलाई आफ्नो ओछ्यानमा सुतिरहेको भेट्यो। बिहान आमाले उठाउँदै भनिन्,"उठ न, सपना हेर्दैमा चन्द्रमामा पुगिन्छ र?"

चन्द्रे मुस्कुरायो—तर उसको हातमा चन्द्रलोकको चम्किलो धूलो अझै टाँसिएको थियो।


लेखक: गंगा लामीटारे

चन्द्रेको चन्द्रलोक चर्चा

माया सानैदेखि आकाशमा उड्ने चरा हेरेर दङ्ग पर्थी। हवाईजहाजको आवाज आउँने साथ, ऊ तुरुन्त आकाशतिर हेर्थी र भन्थी, "एक दिन म पनि आकाशमा उड्नेछु!"

उसको घर पहाडको काखमा थियो, जहाँ हवाईजहाज कहिलेकाहींमात्र देखिन्थ्यो। तर मायाको मनमा भने जहाजहरू हरेक दिन, हरेक रात उडिरहन्थे—उसको कल्पनामा।

एक दिन विद्यालयमा शिक्षकले सबै बालबालिकालाई सोध्नुभयो, "तिमीहरू के बन्न चाहन्छौ?"

सबैले आफ्नो उत्तर दिए—कोही डाक्टर, कोही शिक्षक, कोही खेलाडी।

तर मायाले आत्मविश्वासका साथ भनी , "म पाइलट बन्न चाहन्छु।"

कसैले भन्यो, "केटी पनि पाइलट बन्नसक्छ र ?"

अर्को साथीले हाँस्दै भन्यो, "तँलाई गाडी त चलाउन आउँदैन, जहाज चलाउने सपना !"

तर मायाले न त तिनीहरूको कुरा मनमा राखी न त उ डराइ । बरु झन् अठोटका साथ पढ्न थाली । जहाज, पाइलट र विमानस्थलको बारेमा उसले किताबहरू पढ्न थाली । उसँग मुबाइल पनि थिएन । साथीको मुबाइल मागेर उडान सम्बन्धी YouTube माभिडियोहरू हेर्न थाली । माया साथै पढाइसँगै अभ्यास पनि गर्दै गइ ।

एकदिन उसको गाउँमा एउटा " सानु विमान" आयो । त्यो एक स्वास्थ्य टोलीको उडान थियो। माया त्यो विमान हेरेर दङ्ग परी । र नढराइ पाइलटसँग बोल्न थाली ।

पाइलट पनि महिला नै थिइ ! लजाउँदै मायाले सोधी , " दिदी म पनि तपाईं जस्तै पाइलट बन्न सक्छु ?" पाइलटले मायाको आँखामा आँखा मिलाएर मुस्कुराउँदै भनिन्,"किन सक्दिनौ र? पंखा त तिमीभित्र छ। अब तिमीले तिनलाई फैलाउन सिक्नुपर्छ।"

त्यो दिनदेखि माया अझै गम्भीर भइ । ऊ नियमित रूपमा पढ्न थाली ।गणित, विज्ञान, र अंग्रेजीमा विशेष ध्यान दिन थालिन्।

वर्षौंको मेहनतपछि मायाले सरकारबाट छात्रवृत्ति पाइ । सहरको एक उड्डयन विद्यालयमा भर्ना भएर निरन्तर पढाइ र अभ्यास गर्दै गइ ।

अन्ततः, धेरै अभ्यासपछि, माया नेपालको पहिलो महिला पाइलट त होइन तर आफ्ना गाउँको पहिलो महिला पाइलट बन्न सफल भइन् ।

उनले पहिलो पटक जहाज उडाएको देखेर उसका बुबाआमा, शिक्षक र सबै गाउँले आँखा रसाएर टोलाइरहेका थिए ।

मुस्कुराउँदै माया विमान उडाउँदै आकाशतर्फ उडी । ठ्याक्कै त्यही सपना पुरा गर्न जुन सानो हुँदा उसले देखेकी थिइ ।

शिक्षा: सपना केटीको होस् वा केटाको—सपना सपना हो। मन साँचो र मेहनत दृढ भए, आकाससम्म पुग्न सकिन्छ।

लेखक: गंगा लामीटारे

बाजेको पुनर्वास

निक्कै दिनदेखि नसुतेका गोविन्द बाजे आज प्याट्टै निदाएनन्। कहिले यता फर्किन्छन्, कहिले उत्ता। कहिले दुइयाँ गर्छन्, त कहिले भित्रभित्रै बरबराउँछन्। "यही भोग्न दौडेको थिइस्! लु भोग! अब यसभन्दा बढी के भोग्छस्?" भन्दै भाँडीमा पकाइरहेका जस्तो बर्बराए। आफूलाई र भाग्यलाई गाली गरे। श्रीमतीको कुरा पनि बिर्सिएन। अरू दिन जस्तो आज छटपटाहट मात्र होइन, बाजेको मन ज्वालामुखीको रूपमा फुट्न खोज्दै थियो।

अनिता बज्यैले बाजेको यो दुर्दशा देखेर अत्तालिइन्। बाजे भने, "पढ्छन्, लेख्छन्, र राम्रो काम समात्छन् भनेर अमेरिकाका लागि सही छाप गडिएँ। तर नक्कलहरूले माटो टेकेर हिँड्ने लाइकको छोडेनन्। घरको न घाटको बनाए पिसाले," भन्दै सुँक्कसुँक्क रुन थाले। बज्यैको मन चरक्क चर्कियो। उनले केही भन्न खोजिन्, तर शब्द निस्केन। आँखाबाट अविरल आँसु उर्लियो। छात्तीमा टाउको राखेर बाजेलाई आँसुले सिञ्चन गरिरहिन्, धेरैबेरसम्म।

बाजेको छटपटाहटको कारण थियो उनका छोरा र छोरी। २०१० मा पुनर्वास आएका बेला, छोरीले १२ र छोराले १० कक्षा सकेका थिए।

पोहोर साल मात्र काममा गएकी रूपा साँझ घर फर्किइन। केही समयपछि थाहा भयो, ऊ बाजेलाई मन नपर्ने परिवारको केटासँग भागेकी रहिछ। यो खबर बाजेको मनमा शूलझैँ गड्यो। छात्ती पिटीपिटी रोए, एक्लै चिच्याए, उतै फर्किने गिडगिडाए। तर चाहेजस्तो सजिलो थिएन। समयसँगै त्यो घाउ विस्तारै निको हुँदै गयो।

ओरालो लागेको मृगलाई बाछाले पनि हेप्छ भनेझैँ बाजेलाई एकपछि अर्को घात पर्यो। छोरी हराएको आँसु सुक्न नपाउँदै, छोराको कुकृत्य डढेलोझैँ फैलियो। उत्तम मादक पदार्थको लतमा परेर, एक दिन मातेर स्कूलमा झगडा गरे। निलम्बनको खबरले बाजेको मन छ्याजत्बछ्यात भएर फुट्यो।

बाजेका घरमा लसुन, प्याज र टमाटर कहिले पाकेन। शाकाहारी परिवारका बाजे काशीबाट मध्यमासम्म अध्ययन गरेका थिए। उनी सप्ताह भन्ने, कथा वाचन गर्ने, र राम्रो कर्मकाण्ड पनि गर्ने। साम्प्रदायिक निष्ठा र आचरणमा प्रतिबद्ध थिए। उनी चाहन्थे कि छोराले पनि आफ्नो जमानी पेशा अँगालोस्। उनले छोरालाई सानैदेखि गायत्री मन्त्र जप्न सिकाए, आलाबन्धर स्तोत्र र विष्णुसहस्रनाम रटाए, र एकादशीको व्रत बस्ने अभ्यास गराए। स्कूल बिदाका दिन छोरालाई सँगै कर्मकाण्डमा लैजान्थे। १५ वर्षकै उमेरमा छोराले रगनित गरेको देखेर बाजे गर्वले पुलकित हुन्थे। गाउँले पनि "छोरो होस् त गोविन्द बाजेको जस्तो होस्" भनी प्रशंसा गर्थे। आफ्ना सन्तानलाई संस्कारी र सदाचारी बनाउन बाजेले कुनै कसर छाडेनन्।

मनुष्य सधैं सुख, शान्ति, र समृद्धिको खोजीमा दौडन्छ, तर वास्तविक सुख भेट्टाउन सक्दैन। बाजेको जीवन संघर्षले देखायो कि जीवन समुद्रको ज्वारभाटा मात्र होइन, दूषित हावाले उडाएको तुफान पनि हो।

भनिन्छ, किशोर मन पनि बगेजस्तै उताउलो हुन्छ। जता सहज लाग्यो त्यतै बग्छ। यसको उदाहरण हो, गोविन्द बाजेको छोरो उत्तम। पुनर्वासमा आएपछि, उसले हाई स्कूल पढेको पनि होइन। तर संगत राम्रो थिएन। अमेरिका आएपछि, घरको सबै जिम्मेवारी उसमाथि थोपारियो। बाबुले भाषा नजानैकै कारण, परिस्थितिले उसलाई साथ दिएन।

उतै १२ सकेकी रूपाले यता आएपछि स्कूल गइन। उसलाई लाग्यो, नपढी काम गरेर डलर कमाउन पाएपछि किन स्कूल गइरहने? छोरीले कहिल्यै बाबुको अर्ति सुनिन, न त घरको काममा सहयोग गरिन्। घरमा के भइरहेछ भन्ने जान्न उसको फुर्सद नै भएन।

बुढेसकालको टेक्ने लठ्ठी छोरो उत्तम यति कमजोर छ भन्ने बाजेले कहिल्यै सोचेका थिएनन्। बिरानो मुलुकमा आफ्नै सन्तानबाट धोका पाएपछि, पुनर्वास बाजेलाई कान्छा बाबुको अनुहारजस्तै भयो।

लेखक: भक्त घिमिरे

मंगला शर्माको जीवनी

मंगला शर्मा भूटानको चिराङ जिल्लाको लामिडारा भन्ने सानो गाउँमा जन्मनुभयो। त्यो समय छोरीहरूले विद्यालय जानु दुर्लभ कुरा थियो। अधिकांश छोरीहरूलाई घरको काममै सीमित गरिन्थ्यो।

तर मंगलाको जीवन फरक बनाउने शक्ति उनको आमा गौरादेवी ढकाल थिइन्। गौरादेवीले श्रीमान् बिना पाँच बच्चा हुर्काउनु पर्‍यो। पाँच सन्तानलाई अन्न र कपडामात्र होइन, शिक्षा र संस्कार पनि दिनुपर्छ भन्ने उहाँको दृढ विश्वास थियो। आफ्नो कठिन जीवनलाई बेवास्ता गरेर, आमाले छोरीलाई विद्यालय पठाउनुभयो।

मंगलाले प्राथमिक शिक्षा आफ्नै गाउँको विद्यालयमा पढ्नुभयो। त्यसपछि भारतको शिलङमा क्रिस्चियन बोर्डिङ स्कूलमा गएर माध्यमिक र उच्च शिक्षा पूरा गर्नुभयो। आफ्नो गाउँबाट उच्च शिक्षा पुरा गर्ने थोरै महिलामध्ये उहाँ पनि एक हुनुहुन्छ। पछि उहाँ श्रीलङ्काको पेराडेनिया विश्वविद्यालयमा गएर कृषिविज्ञान पढ्नुभयो। तर दक्षिण भूटानमा राजनीतिक समस्या भएकाले उहाँले सिकेको कुरा प्रयोग गर्न सक्नुभएन।

सन् १९९२ मा मंगला, उनका श्रीमान् डा. छबिलाल शर्मा र दुई छोरीहरूले भूटान छोड्नुपर्‍यो। उनका श्रीमान्को परिवारलाई जबरजस्ती गाउँबाट निकालियो र घर जलाइयो। उनका दाजुहरू पनि सुरक्षाका कारण देश छोड्न बाध्य भए। त्यसपछि मंगला र परिवार नेपालमा टिमाई शरणार्थी शिविरमा आइपुग्नुभयो।

त्यतिबेला शिविरको अवस्था धेरै खराब थियो। सहयोग कम थियो, धेरै मानिस डायरिया र रोगका कारण मर्दै थिए। त्यसबेला मंगला र उनका श्रीमान्ले शरणार्थीहरूको लागि स्वास्थ्य र अन्य सहयोग माग्न सुरु गर्नुभयो। उहाँले केही साथीहरूसँग मिलेर BRAVVE नामको समूह बनाउनुभयो। यस समूहले सिलाइ, बुनाइ, कम्प्युटरजस्ता सीपहरू सिकाउन थाल्यो। यी सीपले धेरैलाई पछि अमेरिकामा रोजगारी पाउन सहयोग गर्‍यो।

सन् १९९४ देखि २००० सम्म मंगला शर्माले नेपालका पूर्वी शिविरमा बसोबास गरेका १ लाखभन्दा बढी भुटानी शरणार्थीको दीर्घकालीन समाधानको लागि वकालत गर्नुभयो। यस क्रममा उहाँले विभिन्न देश भ्रमण गर्नुभयो, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिनुभयो, जसमा सन् १९९५ मा बेइजिङमा भएको महिला सम्मेलन पनि पर्छ।

सन् २००१ मा मंगला र अमेरिकामा बसोबास गर्ने अन्य भुटानीहरूले अमेरिकाको स्टेट डिपार्टमेन्टसँग भेटेर नेपालमा रहेका शरणार्थीहरूको दीर्घकालीन समाधानका लागि आग्रह गरे।

मंगला शर्मा अमेरिकामा पनि भुटानी मात्र नभई अन्य शरणार्थीहरूको पक्षमा आवाज उठाउँदै आइरहनुभएको छ। हाल उहाँ Common Bond Communities नामक न्यून–आय भएका परिवारका लागि आवास उपलब्ध गराउने संस्थामा काम गर्दै हुनुहुन्छ। उहाँ र उहाँको परिवार रोस्भिल, मिनेसोटामा बसोबास गर्दै आउनुभएको छ। अहिले उहाँका दुई छोरीहरू र तीन नातिनातिनीहरू छन्।

मंगला शर्माको कथा केवल एक व्यक्तिको कथा होइन। यो एउटा आमाको अठोट, एउटा छोरीको संघर्ष, र एउटा महिलाको साहसको कथा हो।

लेखक: भक्त घिमिरे

आधा जीवन डुब्यो

सन्तुलाल माझी खोलाको बगरमा डेरा बनाएर बसेको थियो । खोलामा डुङ्गा चलाएर आएको कमाइबाट जीवन चलाउँथ्यो । एकपटकमा पाँचजना यात्रीलाई सन्तुलालले खोला तार्न सक्थ्यो अथवा डुङ्गा भरिन्थ्यो भनौं ।

एकदिनको कुरा हो; आफ्नो डुङ्गा तयार राखेर ऊ खोला तर्ने यात्री पर्खी रहेको थियो । यतिकैमा डाँडागाउँका रमेश खोला तर्न आइपुगे । उनी शहरमा बस्ने इञ्जिनियर थिए । डुङ्गा भरिएपछि मात्र तार्नलाई अरु यात्री पर्खिनुपर्ने थियो । सन्तुलालले रमेशलाई गफमा भुल्याउनु'थ्यो, केहीबेर कुर्न अनुरोध गरे ।

कुरैकुरामा रमेशले सन्तुलाललाई सोधे, तिमीले कति पढेका छौ?

"म पढेको भए यसरी खोलाको बगरमा किन बस्थें हजूर । मेरा लागि काला अक्षर भैंसी बराबर !" सन्तुलालले जवाफ दियो ।

रमेशले ओठ लेप्र्याएर भने, 'हैट्, यत्रो बुढो हुञ्जेल किन नपढेको ? तिमीले आधा जीवन त्यसै डुबाएछौ ।"

यस्तैमा गैह्रीगाउँका दामोदर पण्डित आइपुगे । उनी वनारसमा पढेर बनेका शास्त्री ।

दामोदरले पनि सन्तुलालसित उस्तै कुरा गरे, उही प्रश्न सोधे । अन्त्यमा उनले पनि सन्तुलालको आधा जीवन डुबेको बताए ।

केही क्षणमा लाबरबोटेका घनश्याम शर्मा आएर गफमा सामेल भए, सन्तुलाल हतारिएको थिएन । आखिर यात्रीसंख्या पुऱ्याउनु न थियो । घनश्याम गणितका महाज्ञानी, अर्थशास्त्री, विद्यावारिधि गरेका डाक्टर थिए । घनश्यामले पनि सन्तुलाललाई 'कति पढेको छस्' भनेर सोधे । सन्तुलालको उत्तर उही थियो, अरुलाई दिएजस्तै ।

त्यसपछि लामिटारका लिलाधर पनि खोलो तर्ने ठाउँमा आइपुगे र गफमा सामेल भए । उनी विज्ञानका अनेक परीक्षण गरिसकेका भूगर्भशास्त्री-अनुसन्धाता वैज्ञानिक थिए । कुरामा कुरा, उनले पनि सन्तुलाललाई उही प्रश्न सोधे, उस्तै जवाफ पाए ।

अन्त्यमा सलामीका कृष्णप्रसाद बस्नेत पनि त्यहीँ आइपुगे । कृष्णप्रसाद गाउँटोलका लागि नेता थिए भने राज्यका लागि नामुद व्यापारि थिए । वाणिज्यसंकायको विद्यावारिधि गरेर उनले आफ्नो व्यापारलाई विदेशतिर पनि फैलाइरहेका थिए ।

कृष्णप्रसादले पनि सन्तुलालको पढाइ सोधे र नपढेको उत्तर पाएपछि आधा जीवन डुबाएकोमा गुनासो गरे ।

यतिकैमा यात्रीसंख्या पाँचजना पुगिसकेकाले सबैलाई डुङ्गाभित्र बस्न सन्तुलालले अनुरोध गऱ्यो । सबै डुङ्गामा पसे । खोलाको बीचमा पुग्दासम्म गति सामान्य थियो । सबैले खोलातिर हेर्दै जलतरंगको महिमा गाउँदै थिए । कसैले गुरुत्वाकर्षण र सन्तुलनशक्तिको चर्चा गर्दै थिए ।

यतिकैमा खोलाको तल्लो भागबाट भुमरी चल्यो । ठूलो हुण्डरीझैं पानीका छालहरु आँधी बनेर डुङ्गालाई हिर्काउन थाले । घटनाको त्रासदीले सबै यात्रीका अनुहार चाउरी पर्न थालेका थिए । सन्तुलालले आँधी आएको कारण अब डुङ्गा खोलामा पल्टिने वा डुब्ने बताएर यात्रीहरुले पौडी खेल्न जानेका छन् कि छैनन् भन्ने बुझ्न खोज्यो । पाँच यात्रीमध्ये कसैले पनि पौडी खेल्न जानेको थिएनन् । ठीक त्यही मौकामा छालको वेग, हावा झोंका थाम्न नसकेर डुंङ्गा पल्टियो; सन्तुलालसहित सबै यात्री डुबे ।

केहीबेरपछि सन्तुलाल खोलाभित्रै पानीमाथि टाउको उठाएर भन्दै'थ्यो, "मैले आधा जीवन मात्र डुबाएको थिएँ; त्यसकारण आज पुरै डुब्नबाट बाँचें ! धन्य छ मेरा बा' आमाको गरिबी ! उनीहरुले मलाई पढाउन सकेका भए, मैले पढ्न सकेको भए-म पनि शायद यी यात्रीझैं कतै पुगेर पूरै डुब्ने थिएँ।"

लेखक: विष्णु लुइटेल

ए नछो - छुन्छस है

निर्बोध , - "ए बा ! यता हेर्नुस न , मैले के लेखें ? " बडोउत्सुकताका साथ निर्बोधले "हजुर बा"लाई भन्यो र ऊ दगुर्दै छेउमा पुग्यो ।

कृष्ण गोबिन्द श्याम बाले ,-"ए फोहोरी तॅ पर जा । मेरा छेउमा नआइज । म माला जप्दै छु । तिलक सिलक लगाउनु छैन । मलाई नछो है ! " भनेर कड्किए । ग्रेन्पाका राताराता अॅाखा देखेर बालक डराए । कोर्से अॅाखाले निर्बोधले ग्रेन्पाका निधार , छाती , कुम र भुडीमा पोतेको तिलक राम्ररी हेरे । ऊ निराश भए ।

बिचरा निर्बोध , कालो मुख लगायो । अनि आफ्नी आमा मालाका छेउमा गएर रुन लाग्यो । आमा,- "नरौ बाबु ! भरे ड्याडी आए पछि भन्नु ल ! अहिले चुप लाग कि , म बाबुलाई कुल्फी दिन्छु । बाबु बसेर पढ्छ है ल , मेरो बाबु ज्ञानी छ । " भन्दै अबोधलाई भुल्याइन् ।

बेलुकी पॅाच बजेतिर नयन कामबाट लखतरान भएर घर आइपुगे । खडेरीले सबै झार सुकेर पराल भएको थियो। गरम पनि औधी नै थियो ।

घरभित्र पस्ता नयनलाई केही सित्तल भएको थियो । ऊ सोफामा बस्यो र निर्बोधलाई छेउमा बोलायो । मालाले चिसो पानी राखिदिइन । उसले पानी पिउदै छोरालाई सोध्न थाल्यो ,- " बाबु आज के पढ्यौ ? के लेख्यौ ? मैले दिएको पढेर लेखेर सक्यौ के ? "

निर्बोधले उसले लेखेको कापी देखाउॅदै पढेको पनि सुनाउन थाल्यो ,-"आज मैले -कखगघ र ङ जाने " । अनि A to Z पनि लेखे । हेर्नु त , ड्याडी ।" "स्याबास छोरा , बाबु कत्ति ज्ञानी छन् है, मेरो राजा ।"

निर्बोध पनि एकैछिन खुसी भयो र आमासित गएर रमाउन थाल्यो ।

अनि दगुर्दै कृष्ण गोबिन्द श्याम बा को छेउमा गयो र ठिङ्ग उभियो । मुख कालोकालो लगाउॅदै अली-अली डराए जस्तो गरेर दिउसो उसले मिहितेतले बनाएको ग्रान्पाले लगाएको तिलकको नक्सा देखाउदै मात्र के थियो , बूढाको पारो तातिहाल्यो ,- " पर जा , केको नक्सा कोरिस ? तलाई ननुहाई तिलकको नक्सा बनाउन कस्ले भन्यो ? तेरै बाबुलाई देखा , जा ।"

निर्बोध ड्याडीका छेउमा आयो र रुन लाग्यो । अनि बिहान पनि ग्रन्पाले हप्काएको पोल लगाउन थाल्यो ।नयनले छोरालाई सम्झायो बुझायो र त्यतिबेलालाई खुसी बनायो ।

नयन आफ्ना बाबाका छेउमा गयो र उसले बाबालाई सम्झाउदै भन्यो ,-"बाबा तपाई किन यो नातीलाई छोइस ,नछो , तिलकको नक्सा किन बनाएको भनेर गाली गर्नु हुन्छ ? यो छ वर्षे बालकले तपाईको गाली र अर्ती सबै बुज्छ जस्तो लागेर हो कि मलाई तपाईले मन नपराएर हो यसो गरेको ?

यदी तपाईलाई हामी छोरा-बुहारी र यो नातीको ब्यवहार मन नपरेको भए हामीले के गरे तपाईलाई मन पर्छ ? भनिदिनु भए हुन्छ ।" भनेका मात्र के थियो बूढाको पारो तातिहाल्यो ,-"म छुट्टै बस्छु । "लक्ष्मीनारायण हरिहरधाम" मन्दिरकै छेउमा कोठा लिन्छु ,दुई जना बस्छौं र बिहान बेलुका मन्दिरको सेवा गर्छौ । तेरा भुराको र तेरो कचकच सुन्नु छैन । "

नयन,- " बाबा मैले देखेको हाम्रा गुरुज्यूहरु त आफ्ना नाती-नातिनीहरुलाई प्यारो गर्नुहुन्छ र काखमा राखेर ज्ञानगुणका कुराहरु गर्नु हुन्छ त । तर तपाईलाई चाहि यो नातीले छुनैनहुने ज्ञान चाहि कस्ले दियो हजुरलाई ?" " ठीकै छ बा हामी तीन जना दाज्यू-भाइ , तपाईकै छोरा हौं । अनि चार जना तपाईका छोरीहरु हामी तीन जनाका चेलीहरु , जस्कामा बसे पनि तपाईको स्वतन्त्रतालाई मान्नै पऱ्यो ।"

नयन-" सारो-गारो परे हामीलाई भन्नु , फोन गर्नु है बाबा , अनि आमासित झगडा चाहि नगर्नु नि । आमाले दुःख पाएं भन्नु भयो भने चाहि राम्रो हुदैन है बाबा ।" यति भनेर ऊ आफ्नो कोठातिर लाग्यो ।

भोलिपल्ट बिहानै पोका पत्यौरा गाडीमा हालेर "बाबा" "आमालाई"लिएर मन्दिर नजिक बसै सरे । हाय ! छुवाछुत !

यसमा भएका पात्र-पात्रा र कथावस्तु कही कतै कसैको घटनामा मिलेमा संयोग मात्र मानिदिनुहोला ।

लेखक: विष्णु लुइटेल

संघर्षको यात्रा

दशैंको रमझम समाप्त भई तिहारको आगमनसँगै हामी सबै हर्षोल्लासमा थियौं। शरणार्थी जीवनबाट मुक्त भएर अमेरिकाको नागरिक बनेको खुसीले हाम्रो जीवनमा नयाँ उत्साह थपेको थियो। यसै उत्साहको बीचमा हामीले घुम्न जाने योजना बनायौं, जहाँ ग्यालभेस्टनको एटलान्टिक तटमा रमाइलो गर्ने सोच थियो।

सपरिवार हामीले यात्रा तय गर्यौं। हाम्रो साथमा ९० वसन्त पार गरिसकेका बाबा, हामी पति-पत्नी, नानीहरू, र दुई युवा—प्रयास र बिकल्प पनि थिए। गाडीमा यात्रा सुरु गर्यौं र दिनको बाह्र बजेतिर ग्यालभेस्टन पुग्यौं।

ग्यालभेस्टनको समुद्रको छटा साँच्चै मनमोहक थियो। विशाल समुद्र, नीलो र गहिरो पानी, र ज्वारभाटाको सुन्दर दृश्यले हामीलाई मन्त्र मुग्ध बनायो। पर-पर देखिने ठूला-ठूला पानी जहाज र अन्तहीन समुद्रको नीलोपनले हाम्रो मन लोभ्यायो। नानीहरू समुद्रको किनारमा बालुवा र पानीमा रमाउन थाले। म भने उनीहरूलाई गहिरो पानीतिर नजान सचेत गराइरहेको थिएँ।

प्रयास र बिकल्प पनि त्यहाँ थिए। उनीहरू एकअर्कासँग गम्भीर कुराकानी गर्दै थिए। बालुवामा बसेर समुद्री किनारको आनन्द लिँदै मैले मैले उनीहरुलाई पालै पालो बोल्न आग्रह गरें।

प्रयासले गहिरो सास फेर्यो र भन्यो,

"दाइ, मैले धेरै प्रयास गरें, तर उन्नति गर्न सकेको छैन। एउटा काम सुरु गर्छु, तर केही समयपछि त्यो काम मन पर्दैन। फेरि बेरोजगार हुन्छु। के गर्ने, के नगर्ने थाहा नै छैन।"

मैले बिकल्पतिर फर्किएर सोधेँ, "तिम्रो के छ समस्या, बिकल्प?"

बिकल्पले गुनासो गर्दै भन्यो, "मलाई पनि कुनै कुरामा सफलता मिलेको छैन।"

मैले फेरि सोधेँ, "तिमीहरूले कति पढेका छौ?"

दुवैले एकसाथ जवाफ दिए, "हाईस्कूल मात्र।"

मैले उनीहरूलाई संघर्षको महत्व बताउन थालें, "संघर्ष बिना सफलता सम्भव छैन। सोचमा परिवर्तन ल्याउनु जरुरी छ।"

उनीहरूलाई दुई शर्तमा चल्न सुझाव दिएँ, "पहिलो, आफ्नो सोचमा परिवर्तन ल्याउने दृढता राख्नू। दोस्रो, विज्ञसित परामर्श लिनू।"

मैले आफ्नो कथा सुनाउन थालें, "म कक्षा पाँचसम्म पढेर किसान बनेको थिएँ। भूटान सरकारको जातीय सफाया आन्दोलनले गर्दा जेल जान बाध्य भएँ। शारीरिक र मानसिक यातना सहनु पर्‍यो। परिवारसहित देश छोडेर शरणार्थी बनें।"

मैले थपें, "बेलडाँगीमा बसोबास गर्यौं। त्यहीँ मैले पुन: अध्ययन सुरु गरें र नेपाली साहित्यमा अलंकारसम्म अध्ययन पूरा गरें। पछि शिक्षक बनें र आफ्नो जीवनलाई पुनः निर्माण गरें। संघर्ष गर्दै अन्ततः अमेरिकामा नागरिकता पाउने अवसर पाएँ "

प्रयास र बिकल्पले मेरो कथा चाखपूर्वक सुने। मैले उनीहरूलाई भनेँ, "म अहिले एक सफल अभिभावक भएको छु। जेठो छोराले फिजिक्समा पी.एच.डी गर्दैछ, बुहारीले कानूनमा मास्टर पूरा गरिन्, कान्छो छोराले साइबर साइबर सेकुरिटी इन्जिनियरिङमा अध्ययन गरिरहेको छ, र मेरी छोरी आरएन पूरा गर्न लागेकी छिन्।"

उनीहरूले लामो श्वास लिएर भने, "तपाईंको जीवन संघर्षले हामीलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो।"

मैले मुस्कुराउँदै उत्तर दिएँ, "जहाँ इच्छा त्यहाँ उपाय। मानव जीवन एउटा स्वीटकेस जस्तो हो, के राख्ने भन्ने तिमीहरूको निर्णय हो। जीवनलाई जसरी मोड्न चाहन्छौ, त्यसरी नै मोड्न सक्छौ।"

ग्यालभेस्टनको त्यो यात्रा हाम्रो जीवनमा एक नयाँ सन्देश बन्यो। उनीहरू घर फर्किने तयारी गर्न थाले, तर मनमा नयाँ ऊर्जा र उत्साह थियो। गाडीमा हामी सबै फर्कियौं, र त्यो दिन हाम्रो लागि प्रेरणादायी बन्यो।

लेखक: निशा लीला

बिराएको बाटो

हाम्रो परिवारमा दुई भाइ, एक बहिनी, आमा, र बाबा गरी पाँचजना छौं, र म सबैभन्दा ठूलो हुँ। चौध वर्षअघि, हामी ओहायो राज्यको एक्रोन शहरमा बसाइँ सरेका थियौं। म त्यतिबेला लगभग पाँच वर्षको थिएँ, बहिनी तीन वर्षकी थिइन्, र भाइ आमाको गर्भमा हुनुहुन्थ्यो।

त्यस समयमा बहिनी सानै भएकाले दिनभरि खेल्दा मलाई दिक्क लाग्थ्यो। आमाको सुत्केरी हुने समय नजिकिँदै थियो, तर यसपटक बज्यै साथमा नभएकाले बाबा भित्रभित्रै चिन्तित हुनुहुन्थ्यो। भाइ सारॉशको जन्मले घरमा खुसियाली ल्यायो, तर केही हप्तामै आमालाई अचानक सन्निपातको समस्या आयो, जसले गर्दा उहाँलाई हतारमा अस्पताल पुर्‍याउनुपर्‍यो।

बाबालाई ठूलो समस्या पर्न थाल्यो—उहाँले काम पनि जानुपर्थ्यो, दुई बच्चाको हेरचाह पनि गर्नु पर्थ्यो, अनि बिरामी आमाको कुरुवा पनि बस्नुपर्ने भयो। छिमेकीहरूले हाम्रो हेरचाह गरिदिए, तर म र मेरी बहिनी के भइरहेको थियो भन्ने बुझ्न नसकेर डरले खुब रोयौं।

त्यसपछि घरमा आमा र भाइ दुवैजना बिरामी हुन थाले। आमालाई हेर्दा उहाँमा धेरै परिवर्तनहरू देखिन्थे। उहाँ प्रायः निराश, दुःखी, र थाकेको जस्तो लाग्नुहुन्थ्यो। उहाँको अनुहारमा लगातार खालीपनको झल्को थियो। कुनै रुचि नै थिएन। रातमा उहाँलाई कहिले बिल्कुलै निद्रा लाग्दैनथ्यो। कहिलेकाहीं अत्यधिक खानुहुन्थ्यो भने कहिलेकाहीं झन् भोक लाग्ने नै गर्दैनथ्यो।

मलाई भाइलाई देख्दा अजीवको रिस उठ्थ्यो। जति आमा बिरामी भएर अस्पताल जानुहुन्थ्यो, त्यति नै भाइप्रति वितृष्णा बढ्दै जान्थ्यो। लाग्थ्यो बाबाले भाइलाई बढी माया गर्नुहुन्छ। तर आमाले सधैं भन्नुहुन्थ्यो, "जति माया भाइ र बहिनीलाई गर्छु, त्योभन्दा बढी तिमीलाई माया गर्छु। हाम्रो जीवनको सारथी तिमी हौ।" आमाका यी शब्दहरूले मलाई केही शान्ति दिन्थे, तर भाइलाई माया गर्न अझै सक्दिनथेँ।

उमेर र कक्षा बढ्दै जाँदा मेरो व्यवहार सुध्रनुको सट्टा झन् उग्र बन्दै गयो। गलत संगतमा परेँ, जसले गर्दा बाबालाई कति पटक लज्जित हुनुपर्‍यो। जति दुःख दिए पनि बाबाले मलाई सधैं माया गर्नुभयो। आमा पनि सधैं सहनशील रहनुभयो, जे भए पनि मेरो पक्षमा खडा हुनुहुन्थ्यो।

एक दिन म युट्युबमा 'जोश टक' नामक कार्यक्रम हेर्दै थिएँ। सामान्यतया लामो भिडिओहरू हेर्न मन नपराउने म, त्यो भिडिओ पुरै हेरें। एक केटाले कुलतले आफ्नो परिवार गुमाएको र बाँच्न गरेको संघर्षको कथा सुनायो। त्यो रात म निदाउन सकिनँ। आमाको र बहिनीको अनुहार आँखामा घुमिरह्यो। बिहान हुँदा मभित्र नयाँ जीवनको हुटहुटी जाग्यो।

त्यो 'जोश टक' मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो। कुलतको दलदलबाट बाहिर निस्कन सजिलो थिएन, तर म दृढ थिएँ। आफूलाई परिवर्तन गर्नका लागि म एक्लै रोएँ र सबै कुरा सम्झें—बालसखा, बज्यै, बाबा, भाइ—र सोचें, भाइको के दोष छ!

बिहान घाम ताप्न बाहिर निस्किएँ। बाहिर एउटा केटा ठूलो पेपरमा केही कोर्दै गरेको देखें। उसको नाम नोर्बु थियो। उसले मलाई देख्नासाथ हात हल्लायो। नोर्बु पढाइसँगै पेन्टिङ गर्थ्यो र क्यामेरा पनि चलाउँथ्यो। उसले मेरो बारेमा केही सोधेन, बरु मलाई साथी बनाएर अगाडि बढ्यो।

नोर्बुसँग समय बिताउन थालेपछि मैले पेन्टिङ गर्न र क्यामेरा चलाउन सिकेँ। उसँगको संगतले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्यायो, जसले गर्दा बाबा-आमालाई पनि खुसी बनायो। नोर्बुको साथले मलाई जीवनमा ठूलो सपना देख्न प्रेरणा दियो

लेखक: निशा लीला

माया भट्टराई

भूटानको गेलुफू जिल्ला, ब्लक भुरे, गाउँ मझुवामा बली माया भट्टराई जन्मिइन्। पछि उनी साहित्यिक संसारमा यही नामले चिनिइन्। उनका आमा मन्धरा भट्टराई र स्व. टीकाराम भट्टराई थिए। सात दिदी–बहिनी र एक भाइ भएको मायालु परिवारमा हुर्के पनि, उनको बाल्यकाल सजिलो भएन।

सानै उमेरमै जन्मभूमि छोड्नुपर्‍यो। परिवारसहित बेलडाँगी शरणार्थी शिविरमा आइपुग्दा उनको जीवनको संघर्ष सुरु भयो। त्यही कठिनाइबीच उनले किताबलाई साथी बनाइन्। गीता, ज्ञानमाला, गुणरत्न जस्ता पुस्तकहरूले उनलाई मानसिक अडान दिए।

तर जीवनले उनलाई सजिलो बाटो दिएन। कक्षा चारमा पढ्दा स्वास्थ्य बिग्रियो, हिँड्न गाह्रो भयो, र अन्ततः ह्वीलचेयरमा बस्नुपर्‍यो। साथीहरू खेल्थे, दौडन्थे, तर माया टाढैबाट हेर्थिन्। स्कुल जान कहिले दिदीले धकेल्थिन्, कहिले बहिनीले हात समाएर लैजान्थिन्। यस्तो अवस्थामा धेरैले हार मान्थे होला, तर उनले मानेनन्।

उपचारका लागि कहिले विराटनगर, कहिले काठमाडौँ धाउनुपर्‍यो। तर पढाइमा उनको मनोबल कहिल्यै कमजोर भएन। त्रिरत्न सेकण्डरी स्कूलमा एस.एल.सीमा दोस्रो स्थान ल्याइन्, र दमक मल्टिपल कलेजमा पनि दोस्रो स्थानमै पास भइन्।

पछि परिवारसहित अमेरिका पुनर्वास भइन्। सुरुमा साउथ डाकोटाको सिउफोल्समा, पछि केन्टकीको लुईभिलमा बसाइँ सारिन्। नयाँ ठाउँ, नयाँ जीवन, तर पुरानै उत्साह। उनले लेखनलाई निरन्तरता दिइन् र जीवनका पीडा, संघर्ष र आशालाई कलममा उतार्न थालिन्।

उनका कृतिहरूमा जूनकीरी – सवाल–जवाफ गजल संग्रह, आमाको काख – कविता संग्रह, समुद्र पारीका कलमहरू – संयुक्त गजल संग्रह, र मायाको यात्रा – गीति एल्बम पर्दछन्।

साहित्यमा महिला स्रष्टा निकै कम छन्, तर माया भट्टराईले देखाइन्—परिस्थिति जस्तो भए पनि सपना निरन्तरता पाए भने पूरा हुन्छ। उनले कलमलाई आत्माको स्वर बनाएर धेरैलाई अडान र प्रेरणा दिएकी छन्।

उनको कवितामा देशप्रतिको गहिरो माया, जीवनप्रतिको दृढता र भविष्यप्रतिको उज्यालो विश्वास झल्किन्छ। उनी भन्छिन्—

"जीवनको बाटोमा बाधा त होलान्, तर यदि मनमा उज्यालो छ भने, अन्धकार कहिल्यै टिक्दैन।"

आज माया भट्टराई केवल गजलकार मात्र होइनन्—उनी साहित्यमा महिला आवाजको प्रतीक, दृढताको उदाहरण, र अन्धकार चिरेर अगाडि बढ्ने साहसकी प्रेरणादायी व्यक्तित्व हुन्।

लेखक: त्रिविक्रम न्यौपाने

मेहनतको फल

भुटानको सुन्दर पहाडी गाउँ सुरेमा नारायण नामक बालक बस्थ्यो। उसका अभिभावकहरू खेतीपाती गरेर जीवनयापन गर्थे। नारायणको जीवन गाउँमा रमाइलो र सुखमय थियो। उसले आफ्नो विद्यालय, साथीहरू, र खेल्ने मैदानलाई अत्यन्त माया गर्थ्यो। तर, राजनीतिक अस्थिरताका कारण भुटानको सरकारले नारायण जस्तै धेरै मानिसहरूलाई देश छोड्न बाध्य गरायो। यसरी, नारायणको परिवारले आफ्नो सम्पत्ति र घर छोडेर शरणार्थीको रूपमा भारत हुँदै नेपाल जानुपर्ने भयो।

नेपालको पूर्वी भागमा अवस्थित बेलडाँगी शरणार्थी शिविरमा पुग्दा नारायणको परिवारले नयाँ जीवनको सुरुआत गर्यो। शिविरमा जीवन अत्यन्तै कठिन थियो। नारायणले आफ्नो घर, विद्यालय, र साथीहरूको सम्झना गरिरह्यो। शिविरमा पानी, खाना, र स्वास्थ्य सेवाको अभाव थियो। खरको छानो भएका टहराहरूमा बस्नुपर्थ्यो, जहाँ गर्मीमा असह्य तातो र वर्षामा पानी चुहिन्थ्यो। तर, नारायणको परिवारले धैर्य र साहसका साथ यी सबै कठिनाइहरूको सामना गर्यो।

शिविरमा नारायणले अस्थायी विद्यालयमा पढ्न थाल्यो। विद्यालयमा साधनहरू सीमित थिए, तर नारायणले आफ्नो पढाइमा कुनै कसर बाँकी राखेन। उसले पुराना पुस्तकहरू, चिर्कटो कापीहरू, र कहिलेकाहीं भेटिने पेन प्रयोग गरेर पढाइ गरिरह्यो। विद्यालयमा नारायणले उत्कृष्ट अंकहरू ल्यायो र शिक्षकहरूको मन जित्यो। उसले शिविरका अन्य बालबालिकालाई पनि पढ्न प्रेरित गर्यो। शिक्षाको महत्त्व बुझेर, नारायणले उपलब्ध पुस्तकहरूबाट अध्ययन गरिरह्यो र शिविरमा रहेका विभिन्न संस्थाहरूले प्रदान गरेको अवसरको उपयोग गर्यो।

धेरै वर्षपछि, नारायणको परिवारलाई अमेरिका पुनर्स्थापना गरिने निर्णय भयो। यो खबरले नारायण र उनको परिवारलाई ठूलो आशा, खुसी, डर, र भय एकैचोटि दियो। उनीहरूले लामो यात्रा गरेर अमेरिका पुगे। नयाँ देश, नयाँ संस्कृति, र नयाँ भाषा सिक्नुपर्ने चुनौतीहरू थिए, तर नारायणले आफ्नो आत्मबल कहिल्यै गुमाएन।

अमेरिकामा, नारायण एक स्थानीय विद्यालयमा भर्ना भयो। सुरुमा भाषा र संस्कृति फरक भएकाले उसलाई समस्या भयो। तर, उसले धैर्यका साथ यी सबै चुनौतीहरूको सामना गर्यो। उसले अंग्रेजी भाषा सिक्नका लागि अतिरिक्त कक्षाहरू लियो र घरमा पनि अभ्यास गरिरह्यो। साथीहरू बनाउने प्रयास गर्यो र स्कूलका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी भयो। केही समयपछि, नारायण विद्यालयमा उत्कृष्ट विद्यार्थीको रूपमा परिचित भयो। उसले विज्ञान र गणितजस्ता विषयहरूमा विशेष रुचि देखायो।

उसको मेहनत र लगनशीलताको फलस्वरूप, उसले एक प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्तिको व्यवस्था गर्यो। विश्वविद्यालयमा पनि उसले उत्कृष्ट प्रदर्शन गर्यो र अन्ततः कम्प्युटर विज्ञानमा स्नातक गर्यो। स्नातकपछि, उसले एक प्रमुख प्रविधि कम्पनीमा काम पायो र आफ्नो करियरमा उल्लेखनीय सफलता प्राप्त गर्यो। उसले आफ्नो संघर्ष र सफलताको कथा सबैलाई सुनायो, जसले अरूलाई पनि प्रेरणा मिल्यो। उसले आफ्ना अभिभावकहरूलाई सुखद जीवन दिन सफल भयो र आफ्नो समुदायका लागि पनि योगदान गर्यो।

नारायणले अमेरिकामा भुटानी शरणार्थी समुदायका लागि विभिन्न कार्यक्रमहरू सुरु गर्यो, जसले गर्दा अन्य शरणार्थीहरूलाई पनि सहयोग र प्रेरणा मिल्यो। उसले शिक्षा, रोजगारी, र आवासको क्षेत्रमा महत्वपूर्ण सुधार ल्यायो।

उसको साहस, धैर्यता, र मेहनतले असम्भवलाई सम्भव बनायो। उसले प्रमाणित गर्यो कि संघर्षको सामना गरेर पनि ठूलो सफलता प्राप्त गर्न सकिन्छ। नारायणको कथा सबैका लागि प्रेरणाको स्रोत बन्यो र उसले आफ्नो जीवनलाई अर्थपूर्ण र सफल बनायो।

लेखक: त्रिविक्रम न्यौपाने

घर सर्छ, तर मन सर्दैन।

केही वर्षअघि राजुको परिवार शिबिरको दुखद जीवनबाट बचेर अमेरिका आयो। सबैले सोचे, अब जीवन सुरक्षित हुनेछ र नयाँ सुरुवात हुनेछ। तर अमेरिका आएपछि सबै कुरा सजिलो भएन।

राजुको बुबा बिहान सबेरै काममा जानुहुन्थ्यो। दिनभर काम गरेर बेलुका थकित भएर चुपचाप घर फर्किनुहुन्थ्यो। उहाँलाई भाषा राम्रोसँग नआउनु ठूलो चुनौती थियो। कहिलेकाहीं उहाँ दिनभर कसैसँग एक शब्द पनि नबोली, चुइगम चपाउँदै समय बिताउनुहुन्थ्यो।

उहाँको अनुहार सधैं थकित र सुनिन देखिन्थ्यो।

राजु कहिलेकाहीं बुबासँग कुरा गर्न खोज्थ्यो, तर बुबाले सानो मुस्कान दिनुहुन्थ्यो र केही भन्नुहुन्नथ्यो।

कहिलेकाहीं त राजु पनि विद्यालय, गृहकार्य र कामको थकाइले बुबासँग ढुक्कसँग बस्न सक्दैनथ्यो।

राति सुत्ने बेला बुबाले कहिलेकाहीं डराएकोजस्तो आवाज निकाल्नुहुन्थ्यो। त्यो आवाजले राजुलाई झस्काउँथ्यो। शिबिरमा उनीहरू सानो झुपडीमा बस्थे। त्यहाँ एकअर्काको सास फेर्ने आवाजसम्म सुनिन्थ्यो। कोही डरायो भने सजिलै बोलाएर उठाउन सकिन्थ्यो। तर अमेरिकाको ठूलो र शान्त घरमा बसेपछि राजुले राति बुबाको आवाज सुने पनि उठेर हेर्न सक्दैनथ्यो।

आमा पनि पहिलेजस्ती हुनुहुन्नथिन्। नेपालमा उहाँ गीत गाउनुहुन्थ्यो र मिठा परिकार बनाउन मन पराउनुहुन्थ्यो। अब उहाँ दिनभर चुपचाप बस्नुहुन्थ्यो।

राजुलाई थाहा थियो कि नेपाली परिवारमा साना मान्छेले ठूलासँग धेरै प्रश्न सोध्दैनन्। माया शब्दमा भन्दा व्यवहारमा देखाउने चलन थियो। खाना राखेर, कपडा मिलाएर र सेवा गरेर माया देखाइन्थ्यो।

बुबा र आमाले आफ्नो पीडा कसैसँग भन्न सक्नुहुन्नथ्यो। राजुले पनि झन्झट नहोस् भनेर चुप लाग्थ्यो।

एक दिन राजुले आमाको आँखाबाट आँसु बगिरहेको देख्यो। ऊ नजिक गयो र सोध्यो, "आमा, के भयो?"

तर आमाले केही बोल्न चाहिनन्। घरमा एउटा पुरानो घडी थियो। त्यसले हरेक सेकेन्डमा "टक्क टक्क" आवाज निकाल्थ्यो।

त्यो आवाज सन्नाटा चिरेर गुञ्जिन्थ्यो। राजुलाई कहिलेकाहीं लाग्थ्यो कि त्यो घडीले घरको चुप्पी गन्दैछ। उसले कापीमा लेखेको थियो, "घर सर्छ, तर मन सर्दैन।"

नयाँ देशमा आए पनि परिवारको मनमा डर, थकान र सम्झनाले अझै ठाउँ ओगटेको थियो। राजु सोच्थ्यो कि शरीर त यहाँ छ, तर आत्मा अझै कतै अड्किएको छ।

तर उसको मनमा अझै पनि आशा बाँकी थियो। कहिलेकाहीं ऊ सोच्थ्यो, "कता जाउँ, को-कोलाई भेट्न जाउँ?" जब कसैले बोलाउँथ्यो, ऊ आमाबुबालाई पनि सँगै लिएर जान्थ्यो।

त्यहाँ आमाबुबाले अरूसँग हाँस्दै, खुल्दै बोलेको देख्दा राजुलाई गहिरो सान्त्वना मिल्थ्यो। उनीहरूले बाल्यकालका साथीहरू भेट्दा रमाएको देखेर राजुले सोच्छ,

"आफ्ना आमाबुबा मभन्दा धेरै फरक हुनुहुन्न रहेछ। उहाँहरूमा पनि खुशी हुन, रमाउन र खुल्न चाहने मन अझै बाँकी रहेछ।" अब राजुले आफैँसँग बाचा गर्‍यो।

अबदेखि विवाह, ब्रतबन्ध, भोजभतेर जहाँ गए पनि ऊ आमाबुबालाई सँगै लिएर जान्छ। राजु भित्रभित्रै सोच्थ्यो, एक दिन त्यो घडीको "टक्क टक्क" रोकिनेछ।

त्यो दिन आमा फेरि गीत गाउनुहुनेछ। बुबा फेरि रमाउँदै हाँस्नुहुनेछ। र त्यो घर फेरि साँच्चिकै घर बन्नेछ।

लेखक: भरत तिम्सिना

ममता

गत वर्ष मितआमाको खेतमा धान राम्ररी फलेको थियो। त्यो अन्नले उनको परिवारलाई पूरै वर्ष खान पुग्यो। यसपालि पनि त्यस्तै आशा थियो, किनकि बगानमा सुपारी राम्ररी फल्दै थियो। ती सुपारी बेचेर मितबाउले भैसी किन्ने सपना देखेका थिए।

तर बिस्तारै गाउँ सुनसान हुँदै गइरहेको थियो। छरछिमेकी र आफन्तहरू गाउँ छाड्दै थिए। वरिपरि "नेपालमा शरणार्थी शिविर खुलेको छ, त्यहाँ खान र बस्ने व्यवस्था हुन्छ" भन्ने कुरा फैलिएको थियो।

मितआमाका श्रीमान् ढुक्क थिए। उनी भन्थे, "हामीसँग अन्न छ, जमिन छ, घर छ। किन जानु?" तर त्यो ढुक्क धेरै दिन टिकेन। एकदिन सेना गाउँमा पस्यो। बुटको आवाजले आँगनहरू काँपे। ढोका भत्काइयो, अन्नका बोरा लुटिए, कतै घरमा आगो लगाइयो। छोरीचेलीमाथि हिंसा भएको खबरले गाउँमा कोलाहल मच्चियो।

त्यो बेला मितआमा गर्भवती थिइन्। बच्चा जन्मन धेरै बाँकी थिएन। श्रीमान् भक्कानिँदै भने, "अब जानु राम्रो हुन्छ, जिउँदो रहनु नै ठूलो कुरा हो।"

असारको बिहान। मुसलधारे वर्षा, बिजुली र चट्याङ। सात जनाको परिवार—श्रीमान्, चार सन्तान, र गर्भमा जीवन बोकेकी मितआमा—थोरै सामान बोकेर घर छाडे। सामान भने केवल चिउरा, अलिकति चिनी, एउटा ठेकी दही र दुई–चार भाँडा मात्र। सबै नाङ्गा खुट्टाले चिप्लो बाटो सम्हाल्दै अघि बढे।

लामो हिँडाइपछि, सिमानापारि केही भुटानी परिवार भेटिए। उनीहरू पनि घर छाडेर भागेका थिए। त्यतै जाँदै गर्दा मितआमाको पेटले संकेत गर्‍यो—बच्चा जन्मन लाग्यो। भीजेको जमिन र वर्षाको बीचमै उनले छोरी जन्माइन्। त्यहाँका दिदीबहिनीहरूले सहयोग गरे। बादल गर्जिँदै थियो, तर मितआमाले नवजात छोरीलाई काखमा अटाएर रात बिताइन्।

भोलिपल्ट बिहान, उनीहरूको परिवार अरू परिवारसँगै बसमा चढेर नेपालको काकडभिट्टा पुग्यो। नेपाल उनीहरूको लागि नयाँ देश थियो। उनीहरूले केवल सुनेका थिए—त्यहाँ एउटा शिविर छ, जहाँ बस्ने घर दिइनेछ। त्यो बेला मितआमासँग आशा र विश्वास मात्र थियो।

बाटोमा झरीले खोला र नाला उर्लिएका थिए। उनीहरू बारम्बार भिज्दै, चिसोले काँप्दै अघि बढे। मितआमा र उनका बच्चाहरू वर्षामा भिजेर ज्वरोले थरथर कामिरहेका थिए। कठ्याङ्ग्रिने चिसोबीच पनि उनले हार मानिनन्।

अन्ततः उनीहरू गोल्धाप शिविरमा पुगे। बच्चाहरू भोकले रोइरहेका थिए, ज्वरोले थलिएका थिए। सबै थकित र त्रसित देखिन्थे। तर मितआमा आत्तिइनन्। भाग्यवश, असल छिमेकीहरूले तातो खाना ल्याएर उनीहरूलाई खुवाए।

शिविरमा आएपछि, मितआमाले पहिलो पटक सुरक्षित महसुस गरिन। भोक, थकान र डर अझै पनि साथमै थिए, तर मितआमा र उनका परिवारले नयाँ जीवनको पहिलो कदम राखे।

लेखक: भरत तिम्सिना

बिर्खे

बिर्खे पलङको छेउमा बसेर अफिसमा आज भएको घटनाबारे सोच्दै थियो। यो तेस्रो पटक थियो जब ऊ म्यानेजर बन्ने अन्तर्वार्तामा असफल भएको थियो। कम्पनीमा दश वर्षभन्दा बढी काम गरेको भए पनि, र सबैभन्दा अनुभवी कामदारहरूमध्ये एक भए पनि, फेरि पनि ऊ छनोट भएन। कारण उही थियो—उसको स्नातक डिग्री थिएन।

"यदि मैले स्कूल जान छोडेको भएन भने," उसले आफैंसँग बर्बराउँदै भन्यो, "सायद मेरो पढाइ पनि पूरा हुने थियो र आज म यो हालतमा हुने थिइनँ।"

उसका विचारहरू पुराना स्कूलका दिनहरूतिर दौडिए। "मलाई सानामा स्कूल जाँदाका ती यादहरू अझै पनि आउँछन्," उसले आफैंलाई फिस्स हाँस्दै सम्झियो। "ती पुस-माघको जाडोमा, बिहानको अस्सेम्बली कहिल्यै रमाइलो लाग्दैन थियो। अस्सेम्बलीको बीस मिनेट, कहिलेकाहीं, एक घण्टाजत्तिकै लामो लाग्थ्यो। ती चिसो र सितले भिजेको मैदानमा उभिँदा, मेरा खुट्टाका औंलाहरू कठाङ्ग्रिन्थे। घाँसले भरिएको चप्पलमा मेरा पैताला चाउरिन्थे। हातका औंलाहरू पाइन्टको गोजीमा हाल्दा, तिघ्राहरू नै चिसिन्थे। दिदीले बुनेको टोपी, संस्थाले दिएको स्विटर, र हिजो धोएर नसुकेको सर्टले कति नै जाडो छेक्थ्यो र! त्यो जाडोलाई एकछिन बिर्साउन म हुस्सेको भित्र लुकेको घामलाई नियालेर हेर्थें। घामलाई हेर्दा देखिने ती राता, पहेंला, हरिया, र निला गोलहरू मेरा आँखामा समातेर भुईंमा उतार्थें।"

अस्सेम्बलीमा हामी जतिसक्दो छिटो लाइनमा उभिन पर्थ्यो। ढिलो भए स्कूल क्याप्टेनहरू र शिक्षकहरूले हामीलाई सजाय दिन तयार हुन्थे। म सधैं डराउँथेँ, किनभने कसैको कपाल लामो भयो भने, वा ड्रेस मैलो भयो भने, सजाय पाउँथ्यो। मलाई कहिल्यै थाहा हुन्नथ्यो कि कसलाई, किन, र कहिले सजाय दिइन्छ।

एकदिन स्कूलको अस्सेम्बलीमा मलाई अगाडि बोलाइयो किनभने मेरो कपाल लामो थियो। म अगाडि जान मानिनँ, र शिक्षकले मलाई थप्पड हान्नुभयो। म रिसाएर स्कूलको गेटबाट निस्केर हिँडे।

"मलाई ति शिक्षकहरू पागल लाग्थे," बिर्खेले ती दिनहरू सम्झिँदै भन्यो। "के थाहा, मान्छेको घरमा कैंची छैन, किन्न पैसा चाहिन्छ भनेर? सबैको अगाडि झापड हान्नुपर्छ?"

त्यस दिनपछि, बिर्खेले स्कूल जान छोड्यो र काम गर्न थाल्यो। उसले पैसासमेत कमाउन थाल्यो, साइकल किन्यो, केरेम बोर्ड किन्यो, र आमालाई सब्जी किन्नका लागि १०-२० रुपैयाँ दिन्थ्यो।

यादले बिर्खेको मुटु भारी बनायो। "यदि त्यो शिक्षकले मलाई सबैका अगाडि अपमान नगरेको भए," उसले दुखेसो गर्दै भन्यो, "म स्कूल छोड्ने थिइनँ।"

तर उसको मनको अर्को भागले सम्झायो, "तर, स्कूल छोडेपछि, मैले कम्तिमा आमा र परिवारलाई सहयोग गर्न सकेँ। बाबाको रक्सीले भरिएको जीवनले हाम्रो घरको हालत नराम्रो बनाएको थियो। कम्तिमा मैले आमालाई सहारा दिन सकेँ।"

तर अहिले, काममा असफलता र गुमेको अवसरले बिर्खेलाई पछुतोले घेरेको थियो। "यदि मैले पढाइ नछोडेको भए, म आज शिक्षित हुने थिएँ र यो दशा भोग्नुपर्ने थिएन," बिर्खेले आफैंसँग पुनः बर्बरायो।

लेखक: भरत तिम्सिना

मनमायाको संसार

मनमायाको छोराले भर्खरै अमेरिका मा घर किनेको छ। चार कोठा भएको घर। एक सुन्दर, घामले ताप्नलाई कोठा। सानो बगैचासहितको आँगन। उनको हर्षको सीमा छैन।

अरूभन्दा ढिलो भए पनि सपना पूरा भयो। धेरै वर्षदेखि उनले ठूलो घरको कल्पना गर्थिन्।अब उनले मनमनै घरका कुनाकुनामा सपना सजाउन थालिन्।

तर यो सजिलो यात्रा थिएन। भूटानबाट भागेर माइधार आइपुग्दा उनी १९ वर्षकी मात्र थिइन्।

श्रीमान् २२ वर्षका। एक वर्षकी छोरी। बूढी सासू। र उनी गर्भवती।

माइधारमा भूटानी शरणार्थीहरू खचाखच थिए। न घामबाट जोगिने घर। न खाने पानी। तातो गर्मी।

फोहोर पानी। सरसफाइको अभाव। प्रायः सबै बिरामी। औषधि परैको कुरा, पिउने पानी पनि सफा थिएन।

त्यहाँ पाँच–छ महिना बिताएपछि बेलडाँगी शिविर आए। मनमायाको परिवारले हजारौं मानिससँगै एउटा सानो जमिन पाए। बाँस र तिर्पाल दिएर घर बनाउन भनियो।

शिविरमा केही संस्थाले खाना र औषधि दिन थालेका थिए।

श्रीमान्ले नयाँ झुपडी बनाउन थाले। गर्भवती श्रीमती र बूढी आमाका लागि सुत्ने खाट बनाए।नयाँ सन्तानको उत्साहमा मनमायाले सहज जीवनको कल्पना गरिन्। तर बच्चा जन्मिनु केही दिनअघि श्रीमान बिते।

१९ वर्षकी मनमायाको संसार टुट्यो। दुई साना बालबच्चा। एक बूढी सासू। सबैको जिम्मा उनको काँधमा। 

भाग्यले केही असल छिमेकी र आफन्त दियो। तर भित्री पीडा थोरैले मात्र बुझ्थे।

एक वर्षमै सासू बितिन्। छिमेकीले दोस्रो विवाह गर्न सम्झाए। तर मनमायाले इन्कार गरिन्। श्रीमानले दिएको प्रेम उनले बिर्सिन सकिनन्। त्यो नै उनको बलियो आधार बन्यो।

त्यसपछि उनी 'अक्सफाम स्कुल' जान थालिन्। त्यहाँ सीप र शिक्षा सिकाइन्थ्यो। उनले टोपी सिल्न सिकिन्। टोपी बेचेर आम्दानी गर्न थालिन्। त्यही पैसाले छोराछोरीलाई लुगा किनिदिइन्। छिमेकीहरूले उनलाई शान्त स्वभावकी र दृढ महिला भनेर चिन्न थाले। समयसँगै छोरी र छोरा हुर्किए। छोरीले खाना पकाउन सघाइन्।

पछि मनमाया शिविरबाहिर गएर कमाउन थालिन्। अन्ततः उनीहरू अमेरिका आए। छोरीले पढ्न पाइनन्, तर राम्रो परिवारमा बिहे गरिन्। छोरोले कलेज सकेर जागिर सुरु गर्‍यो।

छोराले कहिल्यै बुबालाई देखेन।तर मनमायाले उसलाई हेर्दा श्रीमानको झल्को देख्छिन्।

त्यो झल्को नै उनको सबैभन्दा ठूलो सान्त्वना हो। त्यो नै उनको साहस हो। त्यो नै उनको बाँच्ने कारण हो।

लेखक: भरत तिम्सिना

बाल्यकालका सम्झनाहरू

मेरो अमेरिकन साथीहरू र शिक्षकहरूले प्रायः मेरो जीवनबारे धेरै सोध्छन्। म पनि बिना हिच्किचाहट उनीहरूलाई शरणार्थी शिविरमा जन्मेको भनेर भन्छु। हामी धेरै जना सानै ठाउँमा बस्थियौं। त्यहाँ एउटा स्कूल थियो, संस्थाले खानका लागि चामल दिन्थ्यो, तर मनोरञ्जनका लागि हामीसँग आइफोन, भिडियो गेम, वा टिभी थिएन। कहिलेकाहीं साथीहरूसँग जंगल घुम्न जान्थ्यौं, कहिले गाउँमा गएर गुवा र उखु चोर्थ्यौं, अनि कहिले खोलामा पौडी खेल्थ्यौं।

त्यसपछि उनीहरूले सोध्छन्, "डु यु लाइक इट हिएर? डु यु वाना गो ब्याक?"

साच्चै भन्नुपर्दा, सायद आमा, बुबा, दाजु, दिदीहरूले कति दुःख झेले होलान्, तर मलाई भने क्याम्पको जीवन रमाइलो लाग्थ्यो। स्कूलको समय त साथीसँग रमाइलो गर्न मजा नै हुन्थ्यो। बिदा भएपछि घुम्न जाने झन् आनन्द थियो। बुबासँग खासै धेरै कुरा गरेको याद छैन, तर आमाले भने म कहाँ जान्छु, के गर्छु भन्नेमा धेरै चासो लिनुहुन्थ्यो। डर देखाउन "टाउको काट्नेले लैजान्छ" भन्दै टाढा नजानु भन्नुहुन्थ्यो।

म लगभग १२-१३ वर्षको हुँदा, एक रात क्याम्पमा ठुलो आगो लाग्यो। त्यतिखेर १३०० भन्दा बढी घरहरू जलेर नष्ट भए। बुबा र दाजुले जोडेको सम्पत्ति—फोल्डिंग खाट, सोलार बत्ती, थाल बटुका—सबै जलेर खरानी भयो। हामीले सक्दो सामान बोकेर घर छोड्यौं। मैले मेरो ओड्ने ओछ्याउने समातेर सानी बहिनीलाई लिएर जंगलतिर पुगेँ। बहिनीले आफ्नो स्कूलको खाता किताब पनि बोकेकी रहिछ। आगो यति ठुलो थियो कि हामीलाई पछाडिको जंगल नै उज्यालो देखिन्थ्यो। हजारौं मान्छेहरू त्यो रात जंगलमा रोइरहेका थिए।

त्यो आगलागीले सबै कुरा जलेर नष्ट भयो, तर कसैको ज्यान भने गएन। हाम्रो घरको बाकसमा बुबाले होम लाउँदा यज्ञमा डढेका ३-४ वटा चारना र दस पैसे शिक्का भन्दा धेरै थिएन। स्कूल छुट्टी भइसकेको थियो, साथिहरूसँग जता डुल्न जान पाउँथिए। जीवनमा दशैंमा हुने ३० रुपैयाँ भन्दा धेरै मैले पैसा खेलाउन पाएको थिएन। तर, आगलागीले जलेको पित्तल र आलमोनियमको सामान बेचेर मैले पहिलो पटक ३३० रुपैयाँ कमाएँ। त्यसै पैसाले पहिलो पटक चप्पल किनेँ, सागसब्जी किनेँ, र फिलिम हलमा फिलिम हेर्न गएँ। रातको हावा हुन्डरीले तिर्पाल उडाउन खोज्थ्यो, हामी सबैले डोरी समातेर तान्थ्यौं। तर म भने भोलि बजार गएर तातो समोसा खान्छु भनेर कल्पना गरिरहन्थेँ। १० रुपैंयाको रमपममा हुरुक्कै हुने म, घरमा दुई दर्जन राहत आउँदा वास्ता नगर्ने भएको थिएँ।

अमेरिका कसरि मन पर्दैन र? मलाई थाहा छ कि यहाँ मसँग धेरै अवसरहरू छन्। म आफ्ना आमा-बुबाका लागि घर र गाडी किन्न सक्छु। बिरामी पर्दा राम्रो उपचार गर्न अस्पतालहरु छन्। मैले यहाँ केही बढी मेहनत गर्नुपर्ला, तर म केवल आफ्ना सपना मात्र होइन, मेरा माता-पिताको सपना पनि पूरा गर्न सक्छु। यहाँको जीवनले मलाई मेरो परिवारको भविष्यलाई सुधार्न अवसर दिएको छ।

अनि म जहिले पनि भन्छु, "यस आइ लभ ईट हीएर!'

लेखक: भरत तिम्सिना

साहस र एकता

राधाका श्रीमान् काम खोज्न शिविर बाहिर जान्थे, र उनका साना नानीहरू स्कूल जान्थे। अरू महिलाहरू जस्तै, राधा पनि खाना पकाउन दाउराको जोहो गर्न जङ्गल जान्थिन्। यसपटक उनीसँग ६-७ जना महिलाहरूको सानो समूह थियो। केही बूढी, त केही जवान महिलाहरू पनि साथमा थिए।

शिविरमा महिलाहरू र केटीहरू सधैं सुरक्षित थिएनन्। धेरै अप्ठ्यारो घटनाहरू भएको थियो, तर महिलाहरूले तिनका बारेमा बोल्न चाहँदैनथे। शिविरमा मानिसहरूलाई छुट्ट्याउन र अनुहार सम्झन गाह्रो थियो। परिवारका पुरुषहरूले आफ्नी श्रीमती र बालबालिकाको रक्षा गर्न सक्थे, तर कहिलेकाहीँ उनीहरूले केहि नराम्रो भएको थाहा पाउँदैनथे।

जङ्गलको यात्रा कठिन थियो। जाडो, गर्मी, र झरीलाई बेवास्ता गर्दै राधा आफ्नो नानीहरूको मुस्कान सम्झेर अघि बढ्थिन्। लामो यात्रापछि महिलाहरू जङ्गल पुग्थे, जहाँ हप्ताभरि पुग्ने दाउरा संकलन गर्नुपर्ने हुन्थ्यो। उनीहरू पाँचदेखि छ घण्टा भोकै र तिर्खासहित जङ्गलमा बिताउँथे।

राधा सधैं आफ्ना नानीहरूको भोक सम्झन्थिन्। "यदि म दाउरा बटुल्न सकिन भने, नानीहरू भोकै बस्नेछन्," उनले चिन्ता गरेर सोँच्थिन्।

एक दिन, उनीहरू दाउरा खोज्दै धेरै पर पुगेका थिए। सबैजना चुपचाप आफ्नो काममा व्यस्त थिए। अचानक, एक अजनबी पुरुष आइपुग्यो। उसको हेराइ डर लाग्दो थियो, र ऊ एक महिलालाई छुन थाल्यो। राधाले यसबारे सुनेकी थिइन्—यो मान्छेले महिलाहरूलाई धम्क्याएर तर्साउँथ्यो, र तिनीहरूलाई हिंसाको शिकार बनाउँथ्यो।

साथीहरू डराए। कोही बोल्न सकेनन्, त कोही लुक्न खोजे। राधा पनि डराइन्, तर आफ्नो डरलाई जित्दै साहसका साथ भनिन्, "हामी किन डराउने? हामी धेरै छौं, ऊ एक्लो छ। यदि उसले छुन खोज्यो भने, हामी खुर्पीले हान्न सक्छौं।" राधाको कुरा सुनेर सबैलाई साहस आयो। त्यो मान्छे डराएर भाग्यो।

हतार हतार सबैजना घर फर्किए। सबैको मनमा डर थियो, तर अन्त्यमा सुरक्षित रूपमा घर पुगे। राधाले त्यस दिन के भयो भन्ने कसैलाई केही बताइनन्। मध्ये रातसम्म, उनी चिन्ता गरिरहेकी थिइन् कि यदि केही भएको भए, आफ्नो ज्यान जोखिममा परेको भए, नानीहरूको अवस्था के हुने थियो भनेर।

पन्ध्र दिनपछि, राधा फेरि जङ्गल जानुपर्यो। उनले साथीहरूलाई भनिन्, "हामी कसैलाई एक्लै छोड्नु हुँदैन। नजिकै बस्नुपर्छ।"

राधा चोइटाहरू बटुल्दै थिइन्। उनका साथीहरू नजिकै त थिएनन्, तर धेरै टाढा पनि थिएनन्। अचानक, त्यही पुरुष फेरि देखापर्‍यो। उसले लाठी राधाको घाँटीमा तेर्स्याएर भन्यो, "तैं हैन अस्ति मार्नुपर्छ भन्ने? ल हेरुँ, के गर्न सक्छेस्।"

राधा डराइन् तर साहस जुटाउँदै चिच्याइन्, "साथीहरू, चाँडो आउनुस्!"

१० जना महिलाहरू खुर्पी लिएर चाँडै आइपुगे। त्यो पुरुष फेरि डराएर भाग्यो। राधा सुरक्षित थिइन्। उनका साथीहरूले सोधे, "तिमी ठीक छौ?" राधाले गहिरो सास फेर्दै भनिन्, "अँ, छु। तर हामी नजिकै रहनुपर्छ।"

त्यस दिन सबैजना सुरक्षित रूपमा घर फर्किए। उनीहरूमा अझै डरको झल्को थियो, तर यसपटक उनीहरूले डटेर सामना गरेकोमा गर्व पनि थियो।

लेखक: भरत तिम्सिना

आशाको देश

भोलि बिहान सधैंका लागि नेपाल छोडेर अमेरिका जानु छ। कसरी पुगिन्छ, त्यो देश कहाँ छ, केही थाहा छैन। भूटान छोडेको १९ वर्ष २ महिना भइसकेछ। भूटान फर्किने आशामा यति लामो समय बित्यो। शिबिरमा आइपुग्दा म ३६ वर्षको थिएँ।

छोराछोरी सानै भए पनि हुर्किंदै थिए। एउटा छोरो स्कूल जान थालेको थियो। मैले स्कूल जान पाइनँ, तर छोराले जान थालेको देखेर खुशी लाग्थ्यो। जीवनमा धेरै दुःख सहेंपछि केही गर्ने उत्साह जागेको थियो। बल्लतल्ल एउटा दरिलो घर बनाएको थिएँ। खेतमा धान, गहुँ, मकै फलाउन थालेको थिएँ। माछा पाल्न थालेको थिएँ। पाखाबारीमा सुपारी र अलैंची लगाउन खोज्दै थिएँ। मेहनत गरेर व्यापार गर्ने लक्ष्य थियो।

हाम्रो सानो गाउँमा सबैलाई चिनेका थियौं। साह्रो-गाह्रो पर्‍यो भने एकअर्कालाई सहयोग गर्थ्यौं। देशमा आन्दोलन चलेको छ, फलानोलाई जेल लग्यो, फलानोलाई मार्यो भन्ने हल्ला सुनिन्थ्यो। मलाई साना छोराछोरी, पालेका गाईगोरु र बाच्छाहरूको बारेमा सोच्दै दिन बितेको थाहा हुँदैन थियो। खै, जनगणनामा हामी दाजुभाइ, दिदीबहिनी सबै 'एक नम्बर' परेको कारणले होला, हामीलाई आन्दोलनको त्यति महत्व थिएन।

आन्दोलन अझ चर्किँदै थियो। कतै दिदीबहिनीहरूको ज्यान जोखिममा परेको सुन्ने, कतै दाजुभाइहरूलाई मार्न आदेश आएको सुन्ने। कतै नेपाली किताब जलाएको खबर पनि सुनेको थिएँ। नेपाली बोल्छु भन्नु अपराध हो कि भन्ने चिन्ता लाग्न थालिसकेको थियो। राष्ट्रले अन्याय गर्‍यो भनेर गाउँभरि आन्दोलन गर्नेहरूले जुलुस गर्न, हतियार बोक्न, र चन्दा उठाउन थालेका थिए। तिनीहरू गाउँमा आएर यति पैसा दे, उति सामान दे भन्न थालेका थिए। दिन्न भन्न पाईंदैन थियो। सहयोग गर्नेलाई पनि जेलमा थुनिदै थियो। म जस्तो अनपढलाई बाँच्न गाह्रो भएको थियो। हिजो जस्तो लाग्छ, भूटानबाट डराएर भागेको दिन।

नेपालमा नयाँ ठाउँ, नयाँ मान्छे, छरछिमेकी राम्रा थिए तर कहिल्यै आफ्ना लागेनन्। खै, आफूले विश्वास जित्न सकिनँ कि? शिविरमा छाक टार्न पनि धौधौ हुन्थियो, रात काट्न पनि। पानी चुहिने छानामुनि रात बिताउनु पर्थ्यो। चामल पकाउन दाउरा हुँदैन थियो। गोबर माग्न जाँदा कोसेली बिना पाइँदैनथ्यो। काम गर्न बाहिर जान खोज्दा राशन काटिन्थियो। मलाई श्रीमती र साना छोराछोरी छोडेर जान पटक्कै मन लागेन। कहिलेकाहीँ कसैको खेतालो गर्न जाँदा हाजिरा नदिई लखेट्थे, रित्तै हात झुपडीमा फर्किनु पर्थियो।

अभावले मान्छेलाई अनेक काम गर्न बाध्य बनाएको थियो। केहि समय बिरामी पनि भएँ। तागत हुँदा केहि गर्न सकिए। सम्झिँदा अझै निराशा लाग्छ। छोराछोरीले अक्षर चिने तर उच्च शिक्षा दिन सकिनँ।

अब अमेरिका पुगेपछि छोराछोरीले पक्कै केही गर्लान्। कसैको अगाडि झुक्नु नपर्ला, आफ्ना सपनाहरू साकार पार्लान्। निन्द्रा लागे हुन्थ्यो। अमेरिका पुग्न १८ घण्टा लाग्छ भनिरहेका छन्!


लेखक: भरत तिम्सिना

बाघ जुँगे काका

त्यो बिहान रामे काकाको छिमेकीको घर अगाडि जन्तीहरूको ठूलो भिड लागेको थियो। बाटो छेउको रुखमुनि उभिएको एउटा मान्छे रामे काकाले देखे। अनुहार चिनेपछि उनको अनुहारमा हल्का मुस्कान आयो। अरे, त्यो त हर्के रहेछ—बाल्यकालको मिल्ने साथी। रामे काका उत्साहले हर्केतिर लागे।

"के छ, मेरो बाघ!" रामेले ठट्टाउँदै भने।

हर्केले अचम्म मान्दै हेरे र हाँस्दै उत्तर दियो,

"अप्पुई! रामे हो र यो? कति वर्ष भयो नदेखेको! साँच्चै बुढो पो भएछस्!"

रामे पनि हाँसे।

"तेत्तीस वर्ष भइसक्यो होला, भूटान छोडेको दिनदेखि देखेको छैन तँलाई!"

दुवै जनाले खुशीले अँगालो मारे। अँगालो छोड्दै रामेले फेरि हाँस्दै भने,

"खै त तेरो जुँगा? राजा जस्तै पाल्ने भनेको, सानो–सानो देखिन्छ त!"

हर्के मुस्कुरायो।

"अझै बिर्सेको छैनस् नि तैले... त्यही कुरा सम्झिरहन्छस्।"

उनीहरू ग्वाङ्को सानो गाउँमा सँगै हुर्किएका थिए। दुवै गोठालो थिए—बाख्रा र भैँसी लिएर जंगल जाने, दिउँसो बाँसुरी बजाउने, पोखरीमा पौडी खेल्ने, अनि बेलुकी राँगोलाई समाउँदै घर फर्किने। त्यो बेला न पढाइको चिन्ता थियो, न अरू कुनै झन्झट।

हर्के सधैं भन्थ्यो, "म ठूलो मान्छे बन्छु, अनि राजा महाराजाजस्तै ठूला जुँगा पाल्छु।"

रामे हाँस्दै उत्तर दिन्थ्यो,"हैन हर्के, तैले त एउटै बाख्रासम्म समाल्न सकेको छैन, जुँगा पाल्न सक्लास् र?"

एक दिन जंगलमा थाकेपछि उनीहरू खोलाको छेउमा बसे। हर्केले पानीमा अनुहार हेरेर गर्वका साथ भन्यो,

"ओए रामे, हेर त, जुँगा आउन थालेको छ, ठ्याक्कै राजाको जस्तै!"

रामे हाँस्यो।

"त्यो जुँगा हैन हर्के, बाँदरे भुत्ला हो, कन्सिरीसम्म पलाएको!"

हर्के रिसायो।

"हेर्दे जा, एक दिन मेरो जुँगाले तँलाई हेरेको हेरै पार्छ!"

रामे झन् हाँस्यो।

"होला–होला, सपनामा त होला।"

त्यसपछि हर्के साँच्चिकै जुँगा बढाउने प्रयत्नमा लाग्यो। ऊ दही–भात खान थाल्यो, बाख्राको दूधले अनुहार धुन्थ्यो, अनि कहिलेकाहीँ चुल्होको अँगा‌र निकालेर जुँगामा लेप लगाउँथ्यो।

एक दिन रामेले गोठमा सुकाउँदै राखेको मकैको जुँगा झिक्यो र ठूला–ठूला जुँगा बनाएर हर्केलाई देखाउन दौडियो। तर त्यो दिन विपत्ति आयो। दगुर्दै आएको हर्केलाई देखेर, घाँस खाँदै गरेको राँगोले बाघ ठानेछ—अचानक ऊतिर दौडियो।

"अब्बुई!" भन्दै हर्के हाम्फाल्दै भाग्यो। भाग्दाभाग्दै लडे र सीधै आलमा पल्टियो। मकैको नक्कली जुँगा पनि खसेर भिज्यो।

रामे त हाँसेर लड्यो।

"अरे हर्के! तेरो जुँगा त राँगालाई पनि डर लाग्ने भएछ है! बाघ ठानेर मार्न आउँदो रहेछ।"

हर्के लाजले निहुरियो। अब, तेत्तीस वर्षपछि, जन्तीको भीडबीच उनीहरू फेरि भेटिएका थिए।

हर्के मुस्कुराउँदै भन्यो,

"जुँगा पाल्ने रहर त अझै छ नि दाजु, तर मकैको झुत्तो भेटिएको छैन!"

लेखक: पातलो अन्तरे

जेठी छोरी

तिहारको बेला थियो। घरमा सेलरोटीको बास्ना चलिरहेको थियो। गाउँघरमा सयपत्री र मखमलीको बास्नाले गाउँ नै मगमगाएको थियो। सेतो कमेरो माटोले पोतेका घरहरू पनि त्यस्तै सुन्दर देखिन्थे। बाबाले दुख गरेर थोरै भए पनि दशैँ र तिहारको लागि भनेर वर्षदिनभरि नंग्रा खियाउनुहुन्थ्यो। अनि आमाले बाबाले ल्याएको पैसालाई दैनिक घरखर्च चलाएर थोरै भए पनि जोगाउनुहुन्थ्यो। भूटानमा विषौँ वर्ष नंग्रा खियाएर कमाउँदा पनि मेरी आमाले एउटा नाकमा फूली समेत लगाउन पाउनुभएको थिएन। म घरकी जेठी छोरी, मलाई मेरा भाइबहिनी र आमा-बाबाको जिम्मेवारी थियो।

तिहारको रमझम थियो, मलाई पनि गाउँघरमा देउसी-भैलो हेर्न, नाचगान हेर्न र सुन्न अति रमाइलो लाग्थ्यो। एकातिर बाक्लो मानिसहरूको शिविरको बसाइ, अर्कोतिर प्लास्टिकको छानो, त्यो पनि घाम र पानीले कुटेर राति जुन र तारा घरभित्रैबाट देखिन्थ्यो। घरको जिम्मेवारी र मेरो परिवारलाई केहि भइहाल्छ कि भन्ने डरले म घर छोड्न पाइनँ। त्यो अभावको बेला पनि चाडपर्व आउँदा छुट्टै आनन्द र खुशीयाली छाउँथ्यो। तर, बाक्लो बस्ति भएकोले चोर र डकैतीबाट पनि जोगिनुपर्थ्यो। दशैँ-तिहारको बेला लगाएका गरगहना चोरेको कहानी पनि सुनेकी थिएँ। तर पनि जीवन चलिरहेको थियो।

रात निकै परेकाले देउसी-भैलो खेल्न आउने पनि अलिक कम हुँदै गयो। भाइबहिनी पनि देउसी-भैलो खेलेर घर आए, र हामी सबैजना सुत्न गयौँ। भोलि गोवर्धन पूजा भएकाले बिहान चाँडै उठ्नुपर्ने थियो।

भोली बिहान पनि सबै आ-आफ्ना काममा लाग्यौँ। बाबा गाई-बाख्रालाई घाँसपात गर्न जानुहुन्थ्यो, भाइबहिनी सानै थिए। म पानी धारामा र घरको काममा आमालाई सघाउँथें। बाबाले बेलुकाको चुलो बाल्नको लागि तयारीमा लाग्नुहुन्थ्यो। त्यही बेला तेस्रो मुलुक जानेको पनि चहलपहल राम्रै चलिरहेको थियो।

त्यस दिन बाबाले मलाई मोबाइल चार्ज गर्न छिमेकी मामाको घरमा पठाउनुभयो। मामाहरू तेस्रो मुलुक पुनर्वासको मेडिकल जाँचका लागि दमक जानुभएको थियो। मामाले घरको हेरचाह गर्न भन्नुभएको थियो। मोबाइल चार्जमा राखेर घरमा ताला लगाएँ र दाजुकी छोरीलाई ट्वाइलेट लगाएर घर लिएर आएँ। छोरीको सरसफाइ सकेर आमालाई सघाउन थालेँ। बाबाले मोबाइल ल्याउन भन्नुभयो, अनि म मामाघरको चाबी बोकेर गएँ।

मामाघर पुग्दा म छक्क परेँ—घरको ताला फोडिएको थियो। म तुरुन्तै भित्र पसेँ र देखेँ कि एक जना युवक दराज फोड्दै थियो। "तँ को हो?" भनेर सोधेँ, तर ऊ भाग्न खोज्यो। म तर्सिनँ, उसको लुगा समातेँ र गालामा एक झापट हानेँ। ऊ म भन्दा अग्लो थियो र ममाथि आइलाग्यो, तर मैले डर मानिनँ र प्रतिकार गर्न थालें। केही बेर हामीबीच कडा झगडा भयो। मैले उसको लुगा समातेकोले ऊ लुगै खोलेर भाग्न थाल्यो।

म ठूलो स्वरमा "चोर! चोर!" भन्दै खेद्न थालें। फुटबल मैदान पुग्दा दुईजना छिमेकी दाजुहरू खेल्दै हुनुहुन्थ्यो। मैले उनीहरूलाई चोर देखाउँदै समात्न भनें। दाजुहरूले चोरलाई खेद्दै जंगलतिर लगे।

त्यसपछि मात्रै मैले सम्झिएँ—म त मामाघरको ताला नै लगाएको थिइनँ। छिट्टै फिर्ता गएर सबै जाँच गरें, सबै ठीकठाक थियो, तर मान्छेको भिड जम्मा भइसकेको रहेछ। म थाकेर भुइँमा बसेर लामो सास फेरेँ। केहिबेरमा दाजुहरूले चोरलाई समाएर मेरो अगाडि ल्याउनुभयो। मैले चोरलाई चिनेँ। झापट हान्न मन थियो, तर सकिनँ। दाजुहरूले चोरलाई प्रहरी चौकी लिएर जानुभयो।

मानिसहरूले मेरो आँटको प्रशंसा गर्न थाले। केहीले डर पनि देखाए, तर म विचलित भइनँ। मामाहरू आएपछि सबै कुरा सुनाएँ। मामाले मलाई अँगालो हालेर मेरो साहसको प्रशंसा गर्नुभयो। त्यो दिनपछि मेरो आत्मबल अझ बढ्यो, र समाजले पनि मलाई हेर्ने नजर बदलियो।

लेखक: आभास रिखाम मगर

प्रेरणा

तिहारको बेला थियो। घरमा सेलरोटीको बास्ना चलिरहेको थियो। गाउँघरमा सयपत्री र मखमलीको बास्नाले गाउँ नै मगमगाएको थियो। सेतो कमेरो माटोले पोतेका घरहरू पनि त्यस्तै सुन्दर देखिन्थे। बाबाले दुख गरेर थोरै भए पनि दशैँ र तिहारको लागि भनेर वर्षदिनभरि नंग्रा खियाउनुहुन्थ्यो। अनि आमाले बाबाले ल्याएको पैसालाई दैनिक घरखर्च चलाएर थोरै भए पनि जोगाउनुहुन्थ्यो। भूटानमा विषौँ वर्ष नंग्रा खियाएर कमाउँदा पनि मेरी आमाले एउटा नाकमा फूली समेत लगाउन पाउनुभएको थिएन। म घरकी जेठी छोरी, मलाई मेरा भाइबहिनी र आमा-बाबाको जिम्मेवारी थियो।

तिहारको रमझम थियो, मलाई पनि गाउँघरमा देउसी-भैलो हेर्न, नाचगान हेर्न र सुन्न अति रमाइलो लाग्थ्यो। एकातिर बाक्लो मानिसहरूको शिविरको बसाइ, अर्कोतिर प्लास्टिकको छानो, त्यो पनि घाम र पानीले कुटेर राति जुन र तारा घरभित्रैबाट देखिन्थ्यो। घरको जिम्मेवारी र मेरो परिवारलाई केहि भइहाल्छ कि भन्ने डरले म घर छोड्न पाइनँ। त्यो अभावको बेला पनि चाडपर्व आउँदा छुट्टै आनन्द र खुशीयाली छाउँथ्यो। तर, बाक्लो बस्ति भएकोले चोर र डकैतीबाट पनि जोगिनुपर्थ्यो। दशैँ-तिहारको बेला लगाएका गरगहना चोरेको कहानी पनि सुनेकी थिएँ। तर पनि जीवन चलिरहेको थियो।

रात निकै परेकाले देउसी-भैलो खेल्न आउने पनि अलिक कम हुँदै गयो। भाइबहिनी पनि देउसी-भैलो खेलेर घर आए, र हामी सबैजना सुत्न गयौँ। भोलि गोवर्धन पूजा भएकाले बिहान चाँडै उठ्नुपर्ने थियो।

भोली बिहान पनि सबै आ-आफ्ना काममा लाग्यौँ। बाबा गाई-बाख्रालाई घाँसपात गर्न जानुहुन्थ्यो, भाइबहिनी सानै थिए। म पानी धारामा र घरको काममा आमालाई सघाउँथें। बाबाले बेलुकाको चुलो बाल्नको लागि तयारीमा लाग्नुहुन्थ्यो। त्यही बेला तेस्रो मुलुक जानेको पनि चहलपहल राम्रै चलिरहेको थियो।

त्यस दिन बाबाले मलाई मोबाइल चार्ज गर्न छिमेकी मामाको घरमा पठाउनुभयो। मामाहरू तेस्रो मुलुक पुनर्वासको मेडिकल जाँचका लागि दमक जानुभएको थियो। मामाले घरको हेरचाह गर्न भन्नुभएको थियो। मोबाइल चार्जमा राखेर घरमा ताला लगाएँ र दाजुकी छोरीलाई ट्वाइलेट लगाएर घर लिएर आएँ। छोरीको सरसफाइ सकेर आमालाई सघाउन थालेँ। बाबाले मोबाइल ल्याउन भन्नुभयो, अनि म मामाघरको चाबी बोकेर गएँ।

मामाघर पुग्दा म छक्क परेँ—घरको ताला फोडिएको थियो। म तुरुन्तै भित्र पसेँ र देखेँ कि एक जना युवक दराज फोड्दै थियो। "तँ को हो?" भनेर सोधेँ, तर ऊ भाग्न खोज्यो। म तर्सिनँ, उसको लुगा समातेँ र गालामा एक झापट हानेँ। ऊ म भन्दा अग्लो थियो र ममाथि आइलाग्यो, तर मैले डर मानिनँ र प्रतिकार गर्न थालें। केही बेर हामीबीच कडा झगडा भयो। मैले उसको लुगा समातेकोले ऊ लुगै खोलेर भाग्न थाल्यो।

म ठूलो स्वरमा "चोर! चोर!" भन्दै खेद्न थालें। फुटबल मैदान पुग्दा दुईजना छिमेकी दाजुहरू खेल्दै हुनुहुन्थ्यो। मैले उनीहरूलाई चोर देखाउँदै समात्न भनें। दाजुहरूले चोरलाई खेद्दै जंगलतिर लगे।

त्यसपछि मात्रै मैले सम्झिएँ—म त मामाघरको ताला नै लगाएको थिइनँ। छिट्टै फिर्ता गएर सबै जाँच गरें, सबै ठीकठाक थियो, तर मान्छेको भिड जम्मा भइसकेको रहेछ। म थाकेर भुइँमा बसेर लामो सास फेरेँ। केहिबेरमा दाजुहरूले चोरलाई समाएर मेरो अगाडि ल्याउनुभयो। मैले चोरलाई चिनेँ। झापट हान्न मन थियो, तर सकिनँ। दाजुहरूले चोरलाई प्रहरी चौकी लिएर जानुभयो।

मानिसहरूले मेरो आँटको प्रशंसा गर्न थाले। केहीले डर पनि देखाए, तर म विचलित भइनँ। मामाहरू आएपछि सबै कुरा सुनाएँ। मामाले मलाई अँगालो हालेर मेरो साहसको प्रशंसा गर्नुभयो। त्यो दिनपछि मेरो आत्मबल अझ बढ्यो, र समाजले पनि मलाई हेर्ने नजर बदलियो।

लेखक: टिका अधिकारी

नमुस्कुराएको खुशी

बिहान ठिक ५:०० बजे घडीको अलार्म बज्छ। घडीको आवाजसँगै कृष्ण प्रसाद शर्माको निन्द्रा खुल्छ। राति अबेर भएको थियो सुत्न। त्यस माथी पनि भोलि बिहानै उठेर नागरिकता थाप्न जानुको उत्सुक्ता। यस्तै के के सोच्दा सोच्दै कृष्णलाई त्यति निन्द्रा पर्न सकेको थिएन।

अलार्मको डाकसँगै ऊ जुरुक उठ्यो र तयारी हुन थाल्यो।

"जीवनको एउटा ठुलो सपना। खोसिएको वा वञ्चित गराइएको एउटा अमूल्य चीजको नाम पाउदै छु म। जुन जस्तो परिस्थितिमा भए पनि। म आजबाट नागरिक बन्दै छु।"

यस्तै अनेक भाव मनमा खेलाउँदै तयार हुँदै थियो कृष्ण।

अचानक आमाको आवाजले ऊ झसंग भयो।

"कृष्ण... ए कृष्ण" भन्दै आमाले बोलाइन।

"हजुर आमा, तयारी हुँदै छु" भन्दै कृष्णले जवाफ दियो।

"चिया पाकिसक्यो छोरा, चाडो गर, हतार हुन्छ अहिले" भन्दै आमा भान्साघरबाट चिच्याइन।

"ल... ल" भन्दै कृष्ण भान्साघर तिर लाग्यो। चिया अलि तातो भएकोले फुक्दै पियो।

"अब गको है आमा" भन्दै गाडीको चाबी र फोन बोकेर निस्कियो।

बिहान ८:०० बजे कृष्ण पेन्ट चट लगाएर कोलम्बसको डाउनटाउन फेडरल अफिसमा नागरिकता समारोहका लागि पुग्छ। बाटोभरी विभिन्न सपना र कल्पना बुन्दै, फेडरल अफिसमा पुग्छ।

अफिसमा विभिन्न देशका मानिसहरुको ठूलो भेला छ—बुढा, खाडा, सक्त, असक्त, सबै जात, धर्म र वर्गका। कृष्ण थोरै छक्क परेर नजिकको कुर्सीमा बस्छ।

सभा कोठा शान्त हुन्छ। स्टेजमा जज केही बोलेपछि फटाफट नागरिकता वितरण सुरु हुन्छ। केही क्षणमै कृष्णको नाम बोलिन्छ। ऊ जुरुक्क उठेर अघि जान्छ।

"थ्यांक्यु... थ्यांक्यु" भन्दै नागरिकता ग्रहण गर्छ। हातमा नागरिकता र राष्ट्र झण्डा लिएर फोटो खिच्न उभिन्छ। आँखामा रस, सायद हर्षका आँशु पनि। खिस्स हाँस्छ, लामो स्वास फेर्छ।

सभा पछि कृष्ण बाहिर निस्कन्छ, नजिकको बेंचमा बसेर आफ्नो नागरिकता ध्यानपूर्वक नियाल्छ। छातीमा टाँस्दा उसको मन भित्र हर्ष र पीडाको आँधी-तुफान उर्लन्छ। खोसिएको नागरिकताको सम्झना, परिवार विछोडको पीडा, र छोरा जन्मेको खुशी, सबै एउटै क्षणमा उसको मनमा मिश्रित हुन्छ। आँखामा झलझली आउँछ विगतका कठिन दिनहरु, तर आज ऊ नागरिकताको पहिचान र सम्मान पाएको छ।

नागरिकता खोसिएको दिन। देश विहिन, माटो विहिन अनि क्षणभ्रमै पहिचान विहिन हुनु पर्दाको अत्यधिक पीडा। सम्झन्छ परिवार छिन्नभिन्न बनाइएको दिन अनि सम्झन्छ परिचय नहुँदा पाउनु परेको दुःख, कष्ट र सानो उपेक्षित व्यवहार।

आफ्ना कयौं पुस्ताले आर्जेको थलो, आफ्नो जन्मसिद्ध अधिकारले पाएको नागरिकता खोसिएको पीडा, असय भएर उसै माथि थपीन्छ। कृष्णलाई आफ्नो देशको झण्डाको यादले पनि लखेड्छ। ऊ पटक्कै हृदय खोलेर मुस्कुराउन सक्दैन।

तर जे जसरी भए पनि, अर्को तिर सोच्दा खुशी नै छ कृष्ण।

"यो देशले परिचय दिएको छ। मान सम्मान दिएको छ। कर्म थलोले दिएको सम्मानको मान राख्न सक्नु पर्छ" भन्छ उसको अर्को मनले।

कृष्णको परिवारमा खुशी छाएको छ, र सबैभन्दा पहिले उसले अमेरिका आए पाँच वर्षमै नागरिकता प्राप्त गर्यो। नयाँ ठाउँ, विरानो देश र कठिन परिस्थितिका बाबजुद कृष्णले संघर्ष गर्न छोडेन, जसले उसलाई परिचय विहिन हुनुको पीडाबाट मुक्त गर्यो र अनुहारमा खुशीका रङ्ग पोतिए।

तर भित्री मनैबाट कहिल्यै मुस्कुराउन सकेन कृष्णले—एउटा आनन्दित खुशीको मुस्कान।

लेखक: ि. पी. मिश्र

रविको सपना

पूर्वी नेपालको भुटानी शरणार्थी शिविरमा, खरको छाना र बाँसको भित्ता भएको झुपडीमा, रवि नामको एक बालक बस्थ्यो।

अरु बालबालिकाभन्दा उ अलिक फरक बानीको थियो। ऊ ठूल्ठूला सपनाहरू सानैदेखि देख्थ्यो। ऊ सत्र वर्षको थियो।

हरेक दिउँसो विद्यालयबाट फर्केपछि, ऊ झुपडीपछाडिको किम्बुको रुखमा चढ्थ्यो, खुट्टा फैलाएर आकाशतिर हेर्थ्यो।

एकदिन उसले ठुलो स्वरमा भन्यो, "म उड्नेछु।"

नजिकैको पानी पँधेरोमा त्यो सुनेर उसकी साथी माया हाँसी।

"उड्ने? के कुखुराको पखेटा लगाएर?"

"होइन," रविले मुस्कुराउँदै भन्यो, "साँचो पखेटा। म एकदिन पाइलट बन्छु। हवाईजहाज उडाउँछु।"

मायाले आँखा घुमाउँदै भनिन्, "पहिले त क्लासमा एक्जाम (exam) पास गर्न त सिक्।"

शिविरको जीवन सजिलो थिएन। पिउने पानीसमेतको कमी थियो। बालबालिका पानी बोकेर घण्टौं लाइनमा बस्ने। कहिलेकाहीं आकाशबाट यति धेरै पानी पर्थ्यो कि झुपडीभित्रै बाढी आउँथ्यो। रविका कापी–किताबहरू भिज्थे, र उसको सपना टाढा लाग्थ्यो।

तर राति ऊ विमानको चित्र कोर्थ्यो। कापीको कमीले ऊ विमानका चित्रहरू कोर्दै, फेरि मेटाउँदै, अनि फेरि कोर्दै गयो।

एक दिन शिक्षक राई सरले कक्षामा एक पाहुना ल्याए — सेतो सर्ट लगाएका क्यामेरा बोकेका मान्छे।

"यी मिस्टर थोमस हुन्," सरले भने, "उहाँ ठूलो मिडियाबाट आउनुभएको हो। उहाँलाई तिमीहरूको सपना सुन्न मन छ रे।"

रवि तुरुन्तै उठ्यो, लजाउँदै भन्यो, "म जहाज उडाउने मान्छे बन्न चाहन्छु।"

कक्षामा हल्का हाँसो फैलियो। राई सरले पनि मुस्कुराउँदै भने,

"यो... ठूलो सपना हो रवि।"

रविले हाँस्दै क्यामेरातिर हेरेर भन्यो, "ठूला सपना देख्दा साना दुःख बिर्सिन्छन्।"

त्यसपछि रविको तस्बिर एउटा अखबारमा छापियो — "शरणार्थी शिविरको बालकको उड्ने सपना" शीर्षकमा।

२००९ सालमा रविको जीवन बदल्ने मौका आयो। उसको परिवार संयुक्त राज्य अमेरिका पुनर्वास हुने भयो।

बिदाइको दिन, मायाले उसलाई कागजको प्लेन दिई।

"यो धेरै टाढा उड्दैन होला," उसले भनिन्।

रविले उसलाई अँगालो हाल्दै भन्यो, "एउटा साँचो जहाज लिएर म फर्किनेछु।"

निकै वर्षहरू बिते। रविले नयाँ देशमा धेरै मेहनत गर्‍यो। ऊ स्कुल जान्थ्यो — फुर्सदमा जे पनि काम गर्थ्यो। राति अबेरसम्म पढ्थ्यो।

र २०२३ मा, रविको सपना पूरा भयो — ऊ आखिर पाइलट बन्यो।

एकदिन, नेपालमाथि विमान उडाउँदै गर्दा, उसले झ्यालबाट तल हे¥यो।

शिविरमा बाँसका झुपडीहरूमाथि केही बालबालिका आकाशतिर हेदै थिए।

ककपिटमा बसेका क्याप्टेन रवि मुस्कुराए।

"मेरो त सपना पूरा भयो," रविले बिस्तारै भने, "अब उनीहरूको कहिले होला?"

लेखक: देविका खनाल

देश छोडेको दिन

त्यो दिनलाई म कसरी बिर्सन सक्छु र? भूटान जन्मेको देशलाई अन्तिम पटक हेर्दै, मनभरि जम्मा भएका भावनाहरू सम्हाल्न खोज्दै, मैले घर छोडेको दिन। पल्ला घरका जेठा पंडित र तल्ला घरका मुक्तान काइला दाजुलाई धेरै महिना जेलमा राखेर यातना दिएपछि, उनीहरूलाई "पाँच दिन भित्र देश छोडिनस भने तेरो छोरीको इज्जत लुटिदिन्छु" भन्ने डराउने धम्की दिइएको थियो। जेलमा बिताएका ती कठिन दिनहरूले उनीहरूको हिम्मत कमजोर बनाएको थियो। जेल भित्रको ती कठिन दिनहरूले उनीहरूको मनोबललाई कमजोर बनाएको थियो। उनीहरू हामीसँग भेटेर रुवाबासी चल्यो।

पर्सिपल्ट वहाँहरु पुस्तौंदेखिको सम्पत्ति त्यत्तिकै चटक्क छोडेर, हाम्रै आँखा सामुबाट लस्कर लागेर उकालो बाटो लागेका थिए। त्यो दृश्यले हाम्रो मन पनि नराम्रो गरी पिरोलियो। पल्लो घरलाई खाने बाघले ओल्लो घरलाई पनि कहाँ छोड्छ र! अबको उसको शिकार भनेको हामी नै हौं, यो पक्का थियो। आफ्नो अस्तित्व र परिवारको रक्षा हेतु, हामीले देश छोड्ने निर्णय गर्यौं।

सुटुक्क भागेर, कताबाट, कुन बाटो भएर जाने हो, केही अतोपतो थिएन। हरे शिव! दुई दिनको पैदल हिँडाइपछि मात्र भूटानको सिमाना पार हुन सक्थ्यो। त्यो विचार मात्रले पनि हामीलाई थकित बनायो।

तब हामी केही नजिकका आफन्तहरूले सल्लाह गरेर सुटुक्क घर छोड्ने निर्णय गर्यौं। "संगठनमा ठूलो शक्ति हुन्छ," भन्ने भनाइलाई मनमा राख्दै, हामी पाँच परिवार मात्र भए पनि, संगठित भयौं। आफूले पुस्तौं देखि जरा गाडेर बसेको थलो छोड्न कहाँ त्यति सजिलो हुन्छ र! बुबा-आमा पुर्पुरामा हात राखेर रुन लाग्नुभयो।

यो दृश्यले मेरो मनलाई झन् भारी बनायो। हे भगवान! अब हामी कहाँ जाने? के गर्ने? मैले भने, "मानिस जन्मिएपछि दैवले खाने-बस्नेको व्यवस्था पनि गरिदिन्छन् रे। हामीलाई पनि कतै व्यवस्था मिलाएकै होलान्, चिन्ता नगर्नुहोस्।" मेरो आवाजमा आफैंलाई सान्त्वना दिने प्रयास थियो, तर मनभित्रको डर स्पष्ट थियो।

औँसीको अघिल्लो रात निकै अँध्यारो थियो। गाईले भर्खर बाछी जन्माएको थियो। गाईलाई बाछीसहित दाम्लाबाट खोलेर धानबारीमा छोडिदियौं। बाछालाई साथ पाएर गाई खुशीले उफ्रिँदै खेतमा गएर बाली खान थाल्यो।

घरमा हामीले परिवारको सदस्यझैं पालेको सानो माया लाग्दो बिरालो थियो। हाम्रो विश्वास अनुसार, बिरालोले यात्रा गर्दा बाटो काटेमा अशुभ मानिन्थ्यो, त्यसैले मैले उसलाई टाढाको कसैको घर अगाडि छोडिदिएँ। तर, जब म घर फर्किएँ, बिरालो मभन्दा अघि नै घर आइपुगेको रहेछ। ऊ पनि हामीलाई छोड्न चाहँदैनथ्यो। अन्त्यमा, हामीले घरको मूल ढोकामा दुवैतिर ठूला ताँबाका गाग्रामा जल भरेर, त्यसको मुखमा दियो बाल्यौं, जसको प्रकाशले अन्धकारलाई चिर्दै परसम्म उज्यालो फैलायो।

त्यत्तिकैमा तलतिरबाट केही खासखुस गरेको आवाज आयो। हामी त बाटा लाग्यौं, "अब चाँडो गर, चाँडो गर। हाम्रा पछि-पछि लाग।" एक-एक गर्दै हाम्रो पाँच परिवार उकालो बाटोमा एकअर्काका पदचापलाई पछ्याउन थाल्यौं। हामीले निश्चय गरेका थियौं, जुनसुकै कठिनाई आए पनि, हामीले हिम्मत हार्नु हुँदैन।

लेखक: सृजना आचार्य

मेरो बाबा: हराएको कथा

नमस्कार,

आज म तपाईंलाई मेरो बाबा, लोकनाथ आचार्यको कथा सुनाउन चाहन्छु।

सन् २०१४ देखि उहाँ हराइरहनुभएको छ। यो केवल हराएको नामको कथा होइन, यो मेरो परिवारको पीडा, हाम्रो आशा, र मेरो निरन्तर खोजको कथा हो।

बाबा भुटानमा जन्मनुभएको थियो। १९९० को दशकमा त्यहाँ राजनीतिक समस्या आयो। त्यसकै कारण उहाँ परिवारसहित नेपाल, झापाको दमक शरणार्थी शिविरमा आउनुभयो। त्यहीँ कठिन जीवनमा म र मेरा भाइ जन्मियौं।

उहाँको माया र हेरचाहले हामीलाई कहिल्यै गरिबी महसुस भएन। सधैं पढ्न प्रेरित गर्नुभयो, भविष्यप्रति विश्वास दिलाउनुभयो, र सिकाउनुभयो—"जसरी भए पनि जीवन अघि बढाउनुपर्छ।"

उहाँ मेरो गर्व, मेरो प्रेरणा र हाम्रो सबैभन्दा ठूलो सहारा हुनुहुन्थ्यो। उहाँ हुँदा हामी सुरक्षित महसुस गर्थ्यौं।

तर सन् २०१४ मा हाम्रो जीवनमा ठूलो अन्धकार आयो।

उहाँ अचानक हराउनुभयो। नेता नभए पनि न्याय र साँचो कामका लागि सधैं बोल्ने, अरुलाई मद्दत गर्ने व्यक्तित्व हुनुहुन्थ्यो।

त्यसपछि म र मेरो परिवारले उहाँलाई खोज्न थाल्यौं। नेपाल, भारत, भुटान—जहाँ सम्भव भयो, सबै ठाउँमा गयौं। कहिलेकाहीँ अज्ञात नम्बरबाट धम्कीका फोन आउँथे। कतिपयले भन्थे—"उहाँ भारतको मलबजारबाट भुटानको जेलमा हुनुहुन्छ।" तर प्रमाण कहिल्यै भेटिएन।

पैसाको अभावले जीवन अझ कठिन बन्यो। भाइ घरमै रहेर हजुरबुबा–हजुरआमाको हेरचाह गर्थे। म आमासँग खोजीमा दौडिरहेँ। तर खोजीसँगै आमाको स्वास्थ्य बिग्रँदै गयो। अन्ततः २०१७ मा आमा र भाइ अमेरिका आए।

वर्षौंको खोजीपछि, २०२५ जुलाई २ मा भुटान सरकारको पत्र आयो—

"Lok Nath Acharya is not in our custody."

त्यो दिन मेरो सानो आशा पनि टुट्यो। म अपराधबोध, निराशा र असहायपनामा डुबें।

तर म हार मान्दिनँ।

किनकि उहाँ केवल हराएको नाम होइन।

उहाँ मेरो बाबा हुनुहुन्छ। मेरी आमाको जीवनसाथी। मेरा बच्चाहरूका हजुरबुबा।

मेरो बच्चाहरूले उहाँलाई कहिल्यै देख्न पाएका छैनन्। तर हरेक दिन सोध्छन्—

"हजुरबुबा कहाँ हुनुहुन्छ?"

त्यसैले आज म तपाईंहरूसँग सिधा अनुरोध गर्न चाहन्छु—

सानो वा ठूलो, जुनसुकै जानकारी भए पनि कृपया अगाडि आउनुहोस्।

तपाईंको एउटा शब्द, तपाईंको एउटा सहयोग, हाम्रो अन्धकारमा उज्यालो ल्याउन सक्छ।

मेरो अधुरो खोज पूरा गर्न तपाईंको साथ जरूरी छ।

धन्यवाद।

लेखक: धर्मिन्द्र तिम्सिना

विदेशको वाध्यता

आज पनि काम छ। खुइ! गर्दै लामो सास फेरेर ऊ उठ्यो। उठेर नास्ता बनायो। अलिकति चिया र एउटा पाउरोटी खाएर सधैंझैँ ऊ आफ्नो नित्यकर्मतिर लाग्यो। काम नगरे घरको भाडा तिर्न नसकिने। भाडा नतिरे घरमा बस्नै नपाइने। "आज भएन, भोलि दिन्छु है" भनेर भन्न नपाइने। "आज बिरामी छु, म भोलि काममा आउँछु" भन्न पनि नपाइने। दिनको दस घण्टा, हप्ताको छ दिन काम गर्नुपर्ने अवस्था। अनि घरमा आएर बजार जानुपर्ने, नसुती हस्पिटलको अपोइन्टमेन्ट मिलाउनुपर्ने। कति व्यस्त जिन्दगी!

कहिलेकाहीँ त एक-दुई घण्टा पनि राम्ररी नसुती काममा जानुपर्ने। तर ऊ जीवनका चुनौतीहरू सामना गर्दै अघि बढ्न सधैं तयार रहन्थ्यो। परिवारका लागि उसले थकान र असुविधाहरूको सामना गर्थ्यो, किनकि उसले बुझ्थ्यो, जीवनमा अघि बढ्न धैर्य र साहस अति आवश्यक छन्।

मनमा यस्तै कुरा खेलाउँदै उसले गाडी स्टार्ट गर्‍यो। गाडीको घुरर… आवाजले ऊ निद्राबाटै ब्युँझिएझैं भयो। "ओहो! सोच्दै-सोच्दै त म झन्डै निदाएँछु।" उसले गाडीलाई पछाडि सार्यो, रोडमा निकाल्नको लागि। त्यही बेला एउटा स्वर कानमा ठोक्कियो, "भरे आउँदा छोरालाई डायपर किनेर ल्याउन नबिर्सनु है।" उसले यसो फर्केर हेर्‍यो, अनि चिन्यो, अरू कोही नभएर आफ्नै श्रीमती रहिछन्। थकित मुद्रामा उसले, "हुन्छ, म ल्याउँछु," भन्यो र आफ्नो बैंक अकाउन्ट खोलेर हेर्‍यो। "ओहो! पैसानै रहेनछ अकाउन्टमा त!" ऊ झस्कियो।

"ए! सुन त," उसले श्रीमतीलाई बोलायो। उत्तर आएन। श्रीमती अघि नै हिँडिसकेकी रहिछन्। उसले आफ्नो गाडी अगाडि बढायो। जसरी भए पनि काममा जानैपर्ने बाध्यता सम्झियो। पर्सि दशैंको टिकाको दिन, विदा पनि पाइएन। यो जिन्दगी पनि कस्तो, आफ्नै रितिरिवाज परम्परा पनि घरमा बसेर मनाउन नपाइने। नेपालमा हुँदा रोटे पिङ खेलेको, साथिभाइसँग रमाइलो गरेको। टीका लगाएर गाउँमा नाच्दै गाउँदै हिँडेको झल्झली सम्झियो। सोच्दै-सोच्दै ऊ काममा पुग्यो।

मनमा हजारौं कुरा खेलाउँदै काम गरेर घर फर्कियो। वर्षौं बित्न त कति समय लाग्दैन भने, एक दिन बित्न कति लाग्छ र? विजयादशमी पनि आयो। हतार-हतार गरेर उसले नुहाइधुवाइ गर्‍यो। एकैछिनका लागि भए पनि नयाँ कपडा लगायो। उसले कपडा लगाइसक्दा उसकी श्रीमतीले आफू र छोरालाई पनि तयार पारिसकेकी थिइन्। बिहानको दस बजेको टिकाको राम्रो साइत रहेछ भनेर उसका बुबाले भनेपछि ठिक दस बजे सबै परिवार मिलेर टीका लगाए। उसले पनि बुबा र आमाको हातबाट टीका र आशीर्वाद थाप्यो अनि श्रीमती र छोरालाई पनि लगाइदियो। जस्तै अवस्थामा पनि समयले नपर्खने, एकैछिनमा उसको काममा जाने समय पनि भयो। घरमा सबैसँग रमाइलो गर्न चाह हुँदाहुँदै, आँखाभरी आँसु पारेर ऊ कामतिर लाग्यो। उसको मनमा एउटा कुरा सधैं खेलिरहन्थ्यो, "समस्याहरू त आउँछन्, तर उनीहरूलाई जितेर अघि बढ्नु नै जीवन हो।"

लेखक: केशब बैरागी माइलो

जीवन संघर्ष

सुन्दर, शान्त अनि अनुपम धरामा माइलो सन्तानका रूपमा जन्मिएको बालकले केही वर्षमै देश गुमायो, माटो गुमायो, सबै गुमायो—र बन्यो शरणार्थी। ती सुन्दर डाँडापाखा, सुन्तला र अलैंची बगान, सुन झैँ देखिने धानबाला झुल्ने टारी खेतहरू धेरै वर्षसम्म माइलोको मनमा खेलिरहे र अमिलो बनिरह्यो उसका मानसपटलमा।

उसका बालाई मानव अधिकार र प्रजातन्त्रको आवाज उठाएको कारण राज्यसत्ताले जेलमा हाल्यो। सरकारको दमनकारी नीतिका कारण आफ्नै देशमा बस्न अफ्ठ्यारो भएपछि माइलोको परिवार देश छोड्न बाध्य भयो। देश छोड्दा बालाई उतै छोडेर आमा, दिदीबहिनी, दाजुभाइसँगै माइलो एकैपटक देशविहीन भयो।

बाक्लो अनि अव्यवस्थित बसोबास, अस्वस्थ खानपानका कारण माइलो धेरै समय बिरामी भएर थलिए। विस्तारै धुलोमाटोलाई साथी बनायो, भोक र अभावलाई समयसँगै स्वीकार्न सिक्यो।

हरेक वर्ष चाडपर्व आउँथ्यो र जान्थ्यो। उसका साथीहरू रमाउँथे—चङ्गा उडाउँथे, नयाँ नाना लगाउँथे, मिठामिठा खाना खाँथे। तर माइलोलाई त्यो माहोलले कहिल्यै छोएन। किनभने उसका बा साथमा थिएनन्। घरको मूलि नै नभएपछि कस्को घरमा चाडपर्वमा पाहुना लाग्छ होला र?

आर्कोतिर आमा दमकी रोगी, पीडा भित्र पीडाको पहाड थियो माइलोसँग। थुप्रै दिदीबहिनी र दाजुभाइ थिए। दातृ संस्थाको सहयोगले छाक टार्न मुस्किल पथ्र्यो, कहिलेकाहीँ आधा पेट खाएर निदाउँथ्यो माइलो। घरमा बाहिर गएर कमाउने कोही थिएन, सबै विद्यार्थी थिए, आमा अशक्त थिइन्।

स्कुलले जीवन झन् कठिन बनायो। एउटै जोर चप्पल, जुन कयौं पटक चुडिन्थ्यो—बत्तिको तापले पगालेर जोडेर लगाउनु पर्ने बाध्यता थियो। हिउँदमा पौँताले चरचरी फुटेर रगत बग्थ्यो। सहनु सिवाय कुनै विकल्प थिएन। आर्थिक अभावले एउटै कपडा पटक–पटक टालेर लगाउनु पर्थ्यो।

अभाव र संघर्षले माइलोलाई जीवन जिउन सिकायो। लुते, नाक चुच्चे देखिने माइलो सानैदेखि पढाइमा अब्बल थियो। उसकी आमाले दुई कक्षा मात्र अध्ययन गरेकी थिइन्, तर त्यो कहालीलाग्दो छाप्रोभित्र रामायण बाचन गर्थिन्। माइलोलाई रामायणका श्लोक सुन्ने लत परिसकेको रहेछ।

विस्तारै माइलोले फुटकर कविता सिर्जना गर्न थाल्यो। कक्षामा साथीहरू र गुरुजनलाई सुनाउँथ्यो। सबैले राम्रो प्रतिक्रिया दिन्थे, ऊ आफैँ दङ्ग हुन्थ्यो। समयको मागसँगै उसले गजल, हाइकु, ताङ्का, छोटा कथा र निबन्ध लेख्न थाल्यो। धेरैले मन पराए। गुरु र साथीहरूले लेख्न प्रेरणा दिइरहे। अनि त उसले पनि निरन्तर लेखिरह्यो।

सन् २००७ मा तेस्रो देश स्थानान्तरण नामको कार्यक्रम शरणार्थी शिविरमा भित्रिएपछि माइलोले अमेरिका रोज्यो। प्रक्रिया पूरा गरेर सन् २००९ मा टेक्सासको अष्टिन शहर आइपुग्यो। दुई–तीन वर्षजति देश–काल, परिस्थिति बुझ्दाबुझ्दै बित्यो। त्यही समय केही सृजनामात्र गर्न सक्यो।

सन् २०११ मा पेन्सलभेनिया बसाइँ सरेर संघर्षसँगै लेखनलाई निरन्तरता दिन थाल्यो। अहिले त्यहीँ बाल्यकालमा शरणार्थी बनेको माइलो थुप्रै साहित्यिक तथा सामाजिक संस्थामा नि:शुल्क सेवा गर्छ।

भोक, अभाव र दुःखलाई जित्न आत्मबल बलियो बनाउन सके जीवन सार्थक बनाउँन सकिन्छ। संघर्षले जीवन जिउन सिकाउँछ।

लेखक: दिपेश चापागाईं

सन्तान गुमाऊनुको पिडा

भुटानको सर्वाङ्ग भन्ने सानो गाउँमा एक मेहनती किसान जगन्नाथ शर्मा बस्थे। उनकी पत्नी जमुना र छोराछोरी पनि उनीसँगै थिए।

त्यतिबेला भुटान सरकारले सबै नागरिकलाई पालैपालो गाउँ र देशका लागि काममा पठाउँथ्यो। यसलाई 'बेगार' भनिन्थ्यो। यो सबैका लागि अनिवार्य थियो।

एक दिन जगन्नाथको पालो आयो। उनलाई केही दिन गाउँबाहिर जानुपर्ने भयो। त्यतिबेला उनका जेठो छोरा जनार्दन साढे सात वर्षका मात्र थिए।

बेगारमा गएका बेला छोराको हेरचाह गर्न गाह्रो भयो। त्यसैले जमुनाले जनार्दनलाई मामाघर पठाइन्।

तर दुर्भाग्यवश, त्यहीँ जनार्दन बिरामी परे। गाउँमा अस्पताल थिएन। औषधि पनि थिएन। मामाहरूले धामीझाँक्री बोलाए। उपचारको प्रयास गरे। तर त्यो सफल भएन।

निमोनियाले सानो जनार्दनको जीवन लियो।

त्यो समयमा फोन थिएन। यातायात पनि सजिलो थिएन। खबर पुर्याउन एक दिन र एक रात लाग्यो। खबर सुनेर जमुना बेहोस भइन्।

दुई दिनपछि जगन्नाथ फर्किए। उनी सिधै मामाघर गए। छोराको दाहसंस्कार गरे। जमुनाले अन्तिम पटक छोराको अनुहार देख्न पनि पाइनन्।

समय बित्यो। तर पीडा मेटिएन। दोष दिने कोही थिएन। समाधान पनि थिएन। न अस्पताल, न औषधि, न सम्पर्क — सबै कुरा अभावमै थियो।

जमुना छोरालाई सम्झँदै आँसु झारिरहन्थिन्। जनार्दनको सम्झनाले जगन्नाथ पनि भित्रभित्रै पोल्थे।

गाउँमा बाटो थिएन। विद्यालय थिएन। अस्पताल थिएन। बजार पनि थिएन।

जगन्नाथ सोच्थे—"गाउँमा छिट्टै बाटो बन्नुपर्छ। विकास आउनुपर्छ। यस्तो पीडा फेरि कसैको परिवारमा नहोस्।"

मन भारी भए पनि उनी बेगार तिर्न जान्थे। उनी विश्वास गर्थे—"आज मैले देशका लागि मेहनत गरे, भोलि छोराछोरीको जीवन सजिलो हुनेछ।"

तर भुटानमा भुटान पुरा विकास हुन समय पक्कै लाग्थ्यो। जमुनालाई खानेपानी लिन काखमा बच्चा बोकेर टाढा हिँड्नुपर्थ्यो। शिक्षा, चेतना, स्वास्थ्य सेवा र आधारभूत सुविधाको अभाव थियो। बिरामी पर्दा धेरैले धामीझाँक्री र घरेलु उपचारमा भरोसा गर्थे।

जगन्नाथ आफ्नो गाउँ र देशलाई माया गर्थे। सधैंको भलो चाहन्थे। तर विडम्बना—भुटानी सरकारले उनी जस्ता मेहनती मानिसलाई गैरकानुनी ठहर्यायो।

उनीहरूलाई आफ्नै घरबाट निकालियो। गाउँ छोड्न बाध्य पारियो। नयाँ ठाउँमा कठिन जीवन बिताउनुपर्‍यो।

यसले केवल उनीहरूको परिवार मात्र होइन, सम्पूर्ण गाउँलाई असर पुर्यायो।

जनार्दनको मृत्यु र घर–देशको बिछोडले गहिरो घाउ बनायो।

नेपालका शरणार्थी शिविरमा आइपुगेपछि उनीहरूले नयाँ संघर्षको सामना गरे।

शिविरको जीवन अत्यन्तै कठिन थियो।

जमुना र जगन्नाथ पुरानो घर र जीवन सम्झिरहन्थे। उनीहरूले कहिल्यै शान्ति पाएनन्।

तर कठिनाइका बीचमा पनि एकअर्कालाई साथ दिए।

छोराछोरीको भलोका लागि नयाँ आशा बोकेर अगाडि बढे।

लेखक: टिका ढुंगाना

कागजमा म

केही महिनाअघि, ICE ले ह्यारिसबर्गमा बसोबास गरिरहेका केही भूटानीहरूलाई समातेर देशनिकाला गर्ने तयारी गर्‍यो। त्यसको विरोधमा डौफिन काउन्टीका कमिश्नरहरूले पत्रकार सम्मेलन आयोजना गरे। म पनि अन्य सामाजिक कार्यकर्ता साथीहरूसँगै त्यहाँ पुगेँ, किनभने यो अन्यायको विरोध गर्नु आवश्यक थियो। कार्यक्रममा थुप्रै समाचार च्यानलका पत्रकारहरू पनि उपस्थित थिए। त्यो क्षणले मलाई गहिरो सोचमा डुबायो—के हामीले अझै पनि यहाँ आफ्नो पहिचान बनाउन सकेका छैनौँ त?

हिजोजस्तै लाग्छ, भूटानमा बिताएको बाल्यकाल स्वर्गजस्तै थियो। न दुःख, न पीडा, न चिन्ता थियो। जब म करिब १० वा ११ वर्षको थिएँ, बुबासँगै छिमेकी पोखरेलको घरमा रेडियो सुन्न जान्थ्यौँ। त्यहाँ वृद्धहरूले "घटना र विचार" कार्यक्रम ध्यानपूर्वक सुन्थे। म त बुझ्दिनथें, तर उनीहरू हाँस्दा म पनि रमाइलो मान्थें।

जीवन सहजै चलिरहेको थियो। तर सन् १९९० मा भूटानमा मानव अधिकारको उल्लङ्घनको विरोधमा आन्दोलन सुरु भयो। सरकारको दमन बढ्दै गयो। नेताहरूलाई जेल हालियो, केही त जेलमै मरे। त्यसपछि डर र त्रासका कारण धेरै मानिसले देश छाड्न थाले। जब म १३ वर्षको थिएँ, म बुबाआमा र दाजुभाइ–बहिनीहरूसँगै नेपालको शरणार्थी शिविरतर्फ लागेँ।

शरणार्थी शिविरको जीवन अत्यन्तै कठिन थियो। रोगहरूले ज्यानको डर पैदा गर्थे। उपचारको अभाव थियो, खाना पुग्दैनथ्यो, जीवन अन्योलपूर्ण थियो। तर त्यस्तो अवस्थामै पनि हामीले हिम्मत हारेनौँ। हामी युवाहरू न त उत्तेजनामा गयौँ, न त हिंसा वा लुटपाटमा लाग्यौँ। हामी अनुशासन र संयममा अडिग भयौँ।

त्यो पीडादायी शरणार्थी जीवनपछि, सन् २०१० को जनवरीमा हामी अमेरिका, ह्यारिसबर्ग, पेनसिल्भेनियामा पुनःस्थापित भयौँ। नेपालमा मैले विज्ञान विषयमा मास्टर गरिसकेको थिएँ। अझै पढ्ने चाहना थियो। तर अमेरिका आएपछि त्यो सम्भव भएन। न राम्रो जागिर पाइयो, न भविष्यको स्पष्ट दिशा भेटियो।

पछि मैले दोभाषेको रूपमा स्वयंसेवक काम गर्न थालेँ। आफ्नै समुदायका लागि अङ्ग्रेजी, नागरिकता, र ड्राइभर लाइसेन्सका कक्षा सुरु गरेँ। जहाँ आवश्यक पर्थ्यो, त्यहीँ सहयोग गरिरहेँ। मानिसहरूको विश्वास बढ्दै गयो, अनि मेरो मन पनि उज्यालो हुन थाल्यो।

सन् २०१४ मा एउटा डलर स्टोर खोलें। उद्यमशीलताको सपना बोकेर अगाडि बढेँ। तर दुर्भाग्यवश, एक वर्षमै स्टोर बन्द गर्नुपर्‍यो। हामी चार जना साझेदार थियौँ। सबैले आफ्नो लगानी गुमायौँ, बचत पनि सकियो। मन पक्कै अस्थिर भयो, तर म निराश भएनँ। फेरि दोभाषेको काम सुरु गरें।

मैले स्वयंसेवा गरेर कमाएको जनविश्वासकै कारण, एक होम केयर एजेन्सीले मलाई शाखा प्रबन्धकको जिम्मेवारी दियो। त्यो मोडले मेरो जीवनलाई नयाँ दिशा दियो। अन्ततः सन् २०१८ मा मैले आफ्नै होम केयर व्यवसाय सुरु गरें।

आज म निर्धक्क भन्न सक्छु, मेरो सपना पूरा भएको छ। अझै पनि म आफ्नो समय समुदायकै सेवामा समर्पित गरिरहेछु। मलाई लाग्छ, समुदाय छ, त्यसैले म आज छु।

भूटानदेखि शरणार्थी शिविर हुँदै अमेरिका आएका छिमेकीहरू सबै एक-अर्काको पीडा बुझ्छौँ। हामीले साझा दुःख भोगेका छौँ, साझा संघर्षहरू पार गरेका छौँ। त्यसैले म विश्वास गर्छु—हामी सबैले यो समाजलाई आफ्नै मानेर यसको भलोका लागि सँगै सोच्नुपर्छ।


लेखक: अर्जुन प्रधान

पुलको छेउमा उभिएको आवाज

आज दिउँसो भाइ भरतले मेची पुलमा मेरो अनुभवबारे लेख्न आग्रह गर्नुभयो। त्यो घटना सम्भवतः मैले शरणार्थी शिविरमा सोह्र वर्ष बिताएपछि भएको हो। संयोगवश, म अमेरिकामा आए पनि आज सोह्र वर्ष पूरा भएको छ। कस्तो अद्भुत मेल हो।

शरणार्थी शिविरहरूमा सुरुमा सहयोग, शिक्षा र आधारभूत आवश्यकताका सामग्री पर्याप्त थिए। संयुक्त राष्ट्रसंघका निकायहरूले खानेकुरा, तेल, स्वास्थ्य सेवा, र विद्यालय उपलब्ध गराइरहेका थिए। तर वर्षौं बित्दै जाँदा समाधान नआएपछि अवस्था बदलियो। सहयोग घट्दै गयो, खाना र तेलको मात्रा कम भयो, स्वास्थ्य सेवा सीमित भयो। लामो प्रतीक्षाले मानिसहरूमा निराशा, मानसिक तनाव र क्रोध बढ्यो। बेरोजगारीले युवाहरूलाई खाली समय र असन्तोष दियो। महिलाहरू विभिन्न जोखिममा परे। यस्तो परिस्थितिमा आशा मात्र होइन, धैर्य पनि घट्दै हुँदै जान्छ।

मभित्र पनि यो अवस्था बदल्नुपर्ने चाहना बलियो हुँदै गएको थियो। म सानैदेखि समाजसेवामा संलग्न थिएँ। भूटान फर्कनुपर्छ भन्ने कुरा घरमै सुन्दै हुर्केको म, छरछिमेकका समस्यामा पनि सक्रिय थिएँ।

एक बिहान हजारौं भूटानी शरणार्थीहरू आफ्नो जन्मभूमि फर्कनुपर्ने माग गर्दै मेची पुलतिर जुलुसका रूपमा अघि बढे। पुलको अर्को छेउमा भारतीय प्रहरीहरू ढाल र लाठीसहित अवरोधमा उभिएका थिए। म पनि समाचार संकलनका लागि भीडसँगै थिएँ, भूटान समाचारले दिएको क्यामरा र टेपरेकर्डर हातमा लिएर घटनाको तातोपन टिप्दै।

भीड नजिकिँदै जाँदा तनाव बढ्यो। धक्का–मुक्की सुरु भयो र केहीले पत्थर फ्याँके। त्यसपछि प्रहरीले लाठीचार्ज गर्‍यो। चर्को हल्लाबीच अचानक गोली चल्यो। एक युवक घटनास्थलमै मृत्यु भयो, धेरै घाइते भए। केही क्षणमै रोदन, भागदौड र हताश फैलियो।

मलाई पनि पटक–पटक लाठी प्रहार भयो। केही कानुनी प्रक्रिया र नेपाल सरकारको पहलपछि पक्राउ परेकालाई छाडियो। तर शिविरबाट अझै मानिसहरू आइरहे, हजारौं युवाहरू बाढीझैँ पुलतिर बढिरहे। भीड अत्यन्तै घना र उग्र भयो। हिँड्नै मुस्किल भइरहेको बेला अचानक मेरो शरीर हलुका भयो, आँखाअघि अन्धकार छायो, र म पुलको छेउबाट तल खसेँ। टाउकोमा गहिरो चोट लागेर रगत बग्न थाल्यो। म बेहोस भएछु। मसँगै अरू दाजुभाइ पनि खसेका रहेछन्। त्यति बेला साथीहरूले छिटो उद्धार नगरेको भए, म आज यहाँ हुने थिइनँ।

ती दिन सम्झँदा, म ज्यान अर्पण गरेका भाइप्रति सधैं सम्मान गर्छु र आत्माको शान्तिका लागि प्रार्थना गर्छु। घाइते, जेलमा रहेका साथीहरू, शीर्ष नेताहरू र पुनर्वासको बाटो देखाउने शिक्षित दाजुभाइहरूलाई मेरो हार्दिक सलाम छ।

हामी भूटानीहरुको जस्तोसुकै कठिनाई आए पनि सक्दो प्रयास गर्नु हाम्रो स्वभाव हो। हामी को हौँ र हाम्रा मानिस को हुन् भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन। हाम्रो अस्तित्व तबसम्म रहन्छ, जबसम्म हामी एकअर्कालाई सुख-दुखमा साथ दिइरहन्छौँ।

देशको माया अझै छ । हिजो बाटो रोकिन्थ्यो, आज बादलसँगै उठेर जाँदा पनि नजिकै रोकिन्छ… देशको यादमा, आमा, म अझै यो दुखाइ भुलिरहेको छु।

लेखक: देवी दाहाल

जीवनको मूल्य

भूटानमा हुँदा कुलबहादुर र म अत्यन्त मिल्ने साथी थियौं। कुनै दिन गोठालो गरिन्थ्यो, कुनै दिन खेतालो। कुनै दिन चाडबाडको रमझम। सरकारको बेठिबेगार नगरेको पनि होइन। तर १९९० सालको आन्दोलनमा परेर डडाल्नामा कोर्राका छाप लिएर बाँच्नको लागि शिविरमा पसेको दुबैजनाको कथा उस्तै छ।

शिविरमा विसौँ वर्षसम्म धेरै दुःख भोगेपछि, अन्ततः अमेरिका बसाईँ सरियो। कुलबहादुर पनि मझै नपढेको! कहाँ परियो, कहाँ! हामी साथी पनि बेखबर भइयो। म अशिक्षाको कारणले न गाडी सिक्ने परमिट पाएं, न भाषा बुझेको छ। कहिलेकाहीं लाग्छ, मैले पढ्न पाएको भए, स्कूल गएको भए, कुनै सीप सिकेको भए, अंग्रेजी बोल्न जान्ने भएको भए, म पनि काममा जान्थेँ, मेरी श्रीमती र परिवारलाई अझ बढी सहयोग गर्न सक्थेँ। तर, म मेरी साहसी श्रीमतीप्रति गर्व गर्छु। बालक छोराछोरी सबै स्कूल जानुपर्छ, श्रीमती एकजनाले घर धान्नको लागि काममा जान्छिन्। म एक्लो, हुटिट्याउँ जस्तो घरमा बस्नुपरेको छ।

एक दिन, कोठामा गुम्सिएर बस्न मन नलागेर, म बाहिर निस्किएँ। हिँड्दै जाँदा, अलि परको एउटा अपार्टमेन्टको छेउमा पुगें, जहाँ शिविरबाट आएका धेरै मानिसहरू बस्न थालेका थिए। पढेलेखेका युवा केटाहरूले केहि कुरा सुनाउलान् भनेर म छेउमा पुगें। त्यहाँको वातावरण निकै होहल्ला र अस्तव्यस्त थियो। कतिपयको अनुहारमा निराशा र अलमल देखिन्थ्यो भने, कतिपय चिच्याइरहेका थिए। आवाज ठूलो थियो तर मलाई प्रस्ट सुनिएको थिएन। म नजिक पुगेर बल्ल थाहा पाएँ।

एकजना पढेलेखेका युवकले आत्महत्या गरेका रहेछन्। म त नपढेको मान्छे, यस्तो सुनेर छक्क परें। किन? केही बुझ्न सकिनँ। उनका बाबुआमा, पत्नी, र छोराछोरीहरू चिच्याउँदै रोइरहेका थिए। मानिसहरू टोलाइरहेका थिए, तर कसैले पनि सहानुभूति देखाएको जस्तो लागेन। कोही भन्थे, "गरिखान नसकेर मरेको," कोही भन्थे, "रक्सी खाएर मरेको बेजात," अनि कसैले भनिरहेको सुनेँ, "छोराछोरी पाल्नको पिरले पासो लागेछ।" कसैले बिचारा भनेको सुन्निएन।

यस्तो सुन्दा मलाई तितो र खिन्न लाग्यो। मरेपछि पनि यस्तो नकारात्मक कुराले चिथोर्ने कस्ता मान्छे होलान्। मनमनै सम्झिएँ—बिचराका बाबुआमा थिए, बाबुआमाको मुटुको टुक्रा, एक्लो छोरो ति बाबुआमाको काखबाट अलगिनुपर्ने कस्तो अवस्था आयो होला! श्रीमतीको हातको सिरानी, न्यानो बिस्तरा चटक्कै बिर्सेर, निधारमा रातो सिन्दूर, छातीमा हरियो पोतेको झुत्तो लिएर बसेकी श्रीमतीलाई साँझै नपरेर विधवा पार्ने कस्तो दिन आयो होला! चारजना साना छोराछोरीलाई बिहान ढोकाबाट निस्किँदा "बाई सियू" भन्दै निस्केको बाउ बेलुका नभई, ती कलिला नानीहरूलाई टुहुरा पार्न सक्ने कस्तो दिन आयो होला! सम्झिँदा सानी छोरीको रिमिक्क परेको जामा, छोराको चिटिक्क परेको सूट क्लजेटमा झुण्ड्याइएको सम्झेँ। आफूलाई आँखामा आँसु आउँदा पुछिदिने आमाबाबाका हात सम्झिएँ। सिरानी लगाएको श्रीमतीको हात र सिन्दूरको टिकाले सजाएको निधार सम्झिएँ। हिजो छोराछोरीले हातको औँलासमातेर वालमार्ट जाँदा "बाबा मलाई चिप्स किनिदिनु" भनेको बोली सम्झिएँ। सोचें, यति सम्झेको भए, उसका बाबुआमा, श्रीमती, र छोराछोरीको जीवनमा अन्धकारको मुस्लो पक्कै खनिदै खनिदैन थियो।

घर फर्किंदा कुलबहादुरको सम्झना आयो। हामीले जीवनमा कति दुःख र सङ्घर्ष भोग्यौं। सधैं आफूलाई अभागी ठानेर बाँच्यौं। सोचें, कुलबहादुर अहिले के गर्दै होलान्? बिस्तारामा जानु अघि, सबै कुरा सम्झें। सम्झें, जब हामीसँग केही थिएन, हामी कति बलियो र साहसी थियौं। हाम्रो उदारता, एकअर्काप्रतिको माया, र जीवनको मूल्यलाई कति धेरै महत्त्व दिन्थ्यौं।


लेखक: द्रौपदी प्रधान

सपनाको महल

भट्टटटट... गरेर घर बनाउन चाहिने मसला फिटिराखेको मेसिन बल्ल रोकीयो केही बेरका लागि। तगारीमा बालुवा र गिट्टी पालैपालो राख्दै मेसिनमा हाल्ने काम गरिरहेको राजकुमार मुसुक्क मुस्कुरायो। शिरदेखि पाउसम्म सिमेन्टको पाउडरले पुरिएका साइला दाइले भने, "ल केटा! केहीबेर आराम गरौं।"

"हुन्छ," भनेर हातको तगारी झारेर, चरचर फुटेका गोडा डक्डकाउँदै, लेग्रो लागेको हातले पसिना पुछ्दै राजकुमार नजिकैको सिमेन्टको बोरामा बस्यो। झोलाबाट पानीको बोतल निकालेर पिउँदै ऊ एकनासले टोलाउँदै थियो। मानौं, उसको मनमा कुनै गम्भीर कुरा बसेको छ।

ऊ सोच्दै थियो, "आज मेरो सोह्रौं जन्मदिन। म अरूको घर बनाउँदै भविष्य बनाउने प्रयासमा छु। अरू धनी युवा जस्तै भएको भए, म आज कुनै क्याम्पसमा किताब बोक्दै हिँडिरहेको हुन्थेँ, कम्प्युटरको नयाँ कुरा सिक्दै थिए होला, वा साथीहरूसँग रमाइलो गरिरहेको हुन्थेँ होला। तर खैर, म यसमा गुनासो गर्दिन। कम्तिमा पनि काम पाएको छु। यो कामले मलाई र मेरो परिवारलाई सहयोग गरेको छ। आज आमा-बुवालाई मिठो खान दिएर धन्यवाद दिन्छु।"

उसको अनुहारले खुशी र सन्तोषको झल्को दिइरहेको थियो। मानौ, ऊ सोच्दै थियो, उसको भविष्य अरूसँग फरक छ, तर उसले आफ्नो बाटो आफैं बनाउनु पर्छ। नजिकै बसेकी मगर्नी मीतामा बोलिन्, "के सोच्दैछस्, राजकुमार?"

मीतामाको कुरा नसकिँदै बाउन्ने अन्तरेले जवाफ दियो, "हैन मीतामा! सोह्र वर्षका ठिट्ठा-ठिट्टीहरूलाई यस्तै हुन्छ भन्ने बिर्स्यौ कि?"

सबै जना रमाए। राजकुमार मुसुक्क हाँस्यो र भन्यो, "केही होइन, मीतामा।"

उसका थाकेका शरीरको पसिना हावाले सुकाइसकेको थियो। ईट्टा बोक्ने तामाङ दाइ खैनी चपाउँदै थिए। उनको छोरी माईली छेउमै बसेर हात पसार्दै भनी, "पापा, मलाई एक खीली दिनु न।"

पर्खाल लगाउँदै गरेका मिस्त्रीहरू पनि केही बेर आराम गरौं भन्दै ईट्टाको थुप्रोमा बसेर बीडी सल्काउन थाले।

त्यति नै बेला राजकुमार बोरामा पल्ट्यो र निदायो। उसको अनुहारमा शान्ति देखिन्थ्यो, मानौं ऊ सपना देख्दै थियो। उसले सपना देख्यो: "आफ्नो वरिपरि हरिया बोट बिरूवा, नाचिरहेका भमरा र पुतलीहरू, सफा झरनाको छेउमा तलाउ, निलो आकाशमा सेतो बादलहरू उडिरहेका छन्। छेउमै चरा चुरुंगीहरू मीठो संगीत गाउँदैछन्। म एक राजकुमार जस्तै शान्त र सुन्दर ठाउँमा छु। काश, मेरो साथमा राजकुमारी पनि भइदिएकी भए म पूर्ण हुने थिएँ।"

"ल ल, अब काम सुरु गरौं," भन्दै ठेकेदारको ठूलो स्वरले राजकुमारको कानमा घण्टी बजायो। झस्केर बिउँझिएपछि ऊ फेरि तगारी उठाएर मेसिनको तालमा नाच्न थाल्यो।

लेखक: जे.एन. दाहाल

पाँच लिटर मट्टितेल

छली चुलामा निहुरिएर बाँसको सोतेले धुवाँ उडाउँदै आगो फुकिरहेकी छ। माटाको चुलामा आगो हुर्रर बल्छ, तर मिनेटभरमै निभ्छ। छली फेरि निहुरिएर सोते फुक्छे। महिना दिनदेखि उसले मट्टितेल जोगाउन स्टोभ बाल्न छोडेर आगो फुक्दै छ।

त्यही बेला चेतन छाप्रोमा प्रवेश गर्छ। ऊ एकछिन उभिन्छ र सोच्दै हेर्छ, "यो बिचरी छली कति मेहनत गर्दैछे!" छलीले पछाडि फर्केर भन्छे, "ए, आयौ बुडा। भोक लागेको होला, सब्जी पकाउँदै छु, धेरै बेर लाग्दैन।"

चेतनले पानी पिउँदै कुनामा राखिएको स्टोभ र मट्टितेलको जर्किनतिर हेर्छ। छली भन्छे, "हात धोएर आउनु, तातै भात खानुपर्छ।"

चेतन अलिक गम्भीर हुँदै सोध्छ, "तिमीले दिउँसो केही खायौ बुडी?"

छली भन्छे, "अँ, तातोपानी र सातु खाएँ।"

चेतनको मनमा गाँठो पर्छ। ऊ भन्छ, "यस्तो बेला धेरै खाइरहनुपर्छ। रेग्मीको दोकानबाट खातामा लेखाएर पाउरोटी ल्याएर खानु।"

छली भन्छे, "कोकीज चाहिँ होइन, अति नै भोक लागे चाउचाउ ल्याएर झोल हालेर खाउँला।"

चेतन गम्भीर हुँदै भन्छ, "अब म मट्टितेल बेच्न भनेर पत्तुबाडी लाने छैन।"

छली सोध्छे, "तर सुत्केरी खर्च कसरी टर्छ?"

त्यस बिहान, चेतन पाँच लिटरको जर्किनमा मट्टितेल लिएर पत्तुबाडी गाउँतिर जान्छ। जङ्गलको सुनसान गोरेटोमा सालका पातहरूले सर्र-सर्र आवाज गर्छन्। सुनसान जङ्गलमा मान्छेको हो-हल्ला छैन।

अचानक, तीन जना अनौठा मान्छेहरू निस्कन्छन्। उनीहरूको हातमा सिकारी बन्दुक र लठ्ठी छन्।

"यो के हो? जर्किन बोकेर कता हिँडेको?" एकले लठ्ठीले इशारा गर्दै सोध्छ। सिकारी बन्दुक बोकेको होचो मान्छे वरपर नजर डुलाउँछ।

"मट्टितेल हो, हजुर। बेच्न लागेको," चेतन भन्छ।

एकले जर्किनको बिर्को खोल्छ र सुँघ्छ। "बेच्न भनेको होला," अर्कोले चेतनलाई बन्दुक देखाउँछ। चेतनको मुटुको धड्कन बढ्छ, डरले काम्न थाल्छ।

"याँले बाहुन," घुँडासम्मको पाताङ लिएर उभिएको व्यक्ति बोल्छ।

चेतन डरले थर्कँदै भन्छ, "बुढी गर्भवती छ, त्यसो नभन्नु न।"

"बढ्ता बोल्छस्, साले," एकजना चेतनलाई कुट्न झम्टिन्छ। अर्को कराउँछ, "चलाख भए सिद्धिएलास्।"

चेतन लुटेराहरूको अघि निरीह देखिन्छ। उनीहरूले मट्टितेल लुटेर जङ्गलमा पस्छन्। चेतन निराश हुँदै सोच्न थाल्छ, बच्चालाई न्वारनमा लगाउने लुगा र दूध कसरी किन्ने?

अझै आधा बाटो बाँकी छ। चेतनको मनमा घर फर्कने कि गाउँतिर जाने दोधार हुन्छ। अन्ततः ऊ लखर लखर जङ्गल पार गर्दै खरेलको घरमा पुग्छ, जहाँ दिनभरि धानका बिट्टा बोक्छ। काम सकेपछि साहुनीसँग ज्याला माग्छ।

"ज्याला दिनुहोस्, म घर फर्कनुपर्छ। घर पुग्न एक घण्टा लाग्छ, घाम डुबिसक्यो।"

साहुनी भन्छे, "आज हतार किन? भोलि दुई दिनको ज्याला मिलाएर दिन्छु। आज घर जाऊ।"

चेतनले जवाफ दिन्छ, "बुढी दुई जिउकी छ, भोली आउन सक्दिनँ। कृपया आजै दिनुहोस्।"

साहुनीले अन्ततः ज्याला दिन्छे, "ल, लैजाऊ न त!"

चेतन ५० रुपियाँ पाउँदा खुसी हुन्छ। दिनभरको थकान र मट्टितेल लुटिएको पीडा बिर्सन्छ।

घर फर्केर छलीलाई पचासको नोट दिँदा, छली दङ्ग पर्छे। "यो सबै मट्टितेलकै पैसा हो?"

"हो, हो, सबै," चेतन भन्छ।

लेखक: गंगा निरौला

गोबरको रोटी

शिविरको पुछारमा एउटा ठुलो पिपलको रूख थियो। कमिलाका ताती जस्तै शिविरका घरहरू एकअर्कासँग धुरी जोल्ठिएका थिए। पुछारको घर राधिकाको हो। राधाको घर पछाडि सानो तरकारी लगाउने बारी थियो। बारीपछाडि चौर थियो, जहाँ जङ्गलबाट निस्केका वस्तुहरू चरिरहेका देखिन्थे।

राधा कक्षा १ मा पढ्थिन्। उनी फुर्तिली र ज्ञानी स्वभावकी थिइन्, त्यसैले छिमेकीहरू उनलाई असाध्यै मन पराउँथे। मायाले सबैले उनलाई 'राधा' भनेर बोलाउँथे। आमाले भनेका साना कामहरू उनी झटपट गरिहाल्थिन्।

स्कुलमा जहिल्यै ११ बजे एक घण्टाको खाना खाने छुट्टी हुन्थ्यो, जसमा सबै विद्यार्थी घर जान्थे। राधा पनि घर पुगिन्। आमाले सधैँ झैँ बगडा चामलको भात, चनाको दाल र घर पछाडि फलेको साग पकाउनु भएको थियो। खाजा नखाई राधा फेरि स्कुलतिर लागिन्।

"आज राधाले राम्रोसँग खाना खाइन। अरू कुरा नै पकाऊँ भन्दा केही छैन घरमा," भन्दै आमा सम्झनुहुन्छ—अस्ति बस्ती जाँदा अलिकति कोदो चनासँग साटेर ल्याएकी थिइन्। बेलुका चाहिँ त्यही कोदोको रोटी पकाइदिनु पर्‍यो।

बिहान राम्रोसँग खाना नखाएकीले राधालाई निकै भोक लागेको थियो। घर आइपुगेपछि आमा भन्नु भयो, "राधा, आऊ, आज मैले के पकाएकी छु—हेर त!" भन्दै कोदोको कालो रोटी, टमाटरको अचार र मोही दिनु भयो। राधाले यसअघि कहिल्यै कोदोको रोटी देखेकी थिइनन्।

"छि! यो गोबरको रोटी त म खाँदिन," भन्दै राधाले थाल पर सारिन्। बाबा पनि रोटी खाँदै हुनुहुन्थ्यो। राधाको कुरा सुनेर बाबाआमा दुवै जना मजाले हाँस्नुभयो।

आमा जिस्काउँदै भन्नुहुन्छ, "खाएर त हेर, यो गोबरको रोटी कति मिठो छ। बाबाले कति मजाले खानु हुँदै छ!"

राधा भन्छिन्, "म एक टुक्रा खान्छु, मिठो भएन भने मलाई पाउरोटी किन्ने पैसा दिनुहुन्छ?"

बाबा मुसुक्क हाँस्दै भन्नुहुन्छ, "हुन्छ, म पैसा दिन्छु। पहिले खा त!"

राधाले एक टुक्रा रोटी मुखमा हाल्छिन्। चिनी हालेर घिउमा पकाएकोले रोटी असाध्यै मीठो भएको हुन्छ। राधा खुसी भएर खान थाल्छिन्। "आमा, यो गोबरको रोटी त कति मिठो! गोबर नि गनाको छैन!"

आमा ठट्टा गर्दै भन्नुहुन्छ, "घिउले यो गोबरको गन्धलाई जित्यो नि त! त्यसैले यति मिठो भएको हो।"

भोलीपल्ट आमा धारामा पानी भर्न जानुहुन्छ। खाजा पकाइसक्दा अब त नौ बजे भयो, राधालाई उठाउनुपर्छ भनी ओछ्यानमा हेर्नुहुन्छ। तर राधा त्यहाँ छैनन्।

"राधा त अघि नै उठेछ," भन्दै वरिपरि हेर्नुहुन्छ, तर ऊ कहीँ पनि खेल्न गएकी छैन।

त्यति मा राधा सानो स्टिलको भाडामा गोबर बोकेर चौरतिरबाट आउँदै थिइन्।

राधा मायालु स्वरमा भन्छिन्, "आमा, आज नि हिजो जस्तै मिठो—गोबरको रोटी पकाउनु है! मैले भाँडाभरि गोबर ल्याएकी छु!"

"पल्लाघरकी कान्छी दिदीलाई पनि बोलाउनुपर्छ यसको रोटी खान," राधाको कुरा सुनेर आमा एकछिन मजाले हाँस्नुहुन्छ। अनि राधाको त्यो मायालु अनुहार हेरेर अङ्गालोमा बाँध्दै भन्नुहुन्छ,

"छोरी, त्यो गोबरको रोटी हैन, कोदोको रोटी हो। कोदोले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ। कोदोले हामीलाई धेरै तागत दिन्छ।"

लेखक: डीपी शर्मा मैनाली

पुनर्निर्माणको स्वर

आज म तपाईँलाई एउटा विशेष कथा सुनाउन चाहन्छु। उज्यालो सपना, विस्थापनको पीडा, र पुनर्निर्माणको आवाजबारे। यो कथा दुई पात्रको माध्यमबाट सुनिन्छ : दीपक काका, पुरानो पुस्ताका प्रतिनिधि, र रश्मी, नयाँ पुस्ताको आवाज।

एक साँझ ह्यारिसबर्ग, अमेरिकामा "सङ्गालो : रिडिङ फर रेजिलियन्स" कार्यक्रम थियो। कार्यक्रममा नयाँ पुस्ताका युवाहरूले पुरानो पुस्ताबाट लेखिएका कथा पढिरहेका थिए।

दीपक काका, एक विस्थापित पूर्व भूटानका नागरिक पनि आफ्नो कथा सुनाउँदै थिए। उनले भूटानको बाल्यकाल सम्झे: हरियाली वन, शान्त हावा, अनि गाउँको मिठो जीवन। तर "एक राष्ट्र, एक जनता" नीतिले त्यो सब लुट्यो। नेपाली भाषी समुदायले नागरिकता गुमाए, शिक्षा टुट्यो, अनि उनी आफ्नै बाउ-बाजेको थलो नेपाल हुँदै अमेरिकाको नागरिक भैसके छन्।

दीपक काका भन्दै थिए :

"हिजो हामीले विरोध गर्न पोशाक जलायौँ। तर आज हामीहरू डलर तिरेर त्यो पोशाक किनिरहेका छौँ। आज त्यही पोशाकलाई भावनामा पोतेर संग्रहालयमा सजाएर राख्छौँ, अनि गर्व गर्छौं। आज हाम्रो आन्दोलन फेसबुकमा सीमित भएको छ। विरोध अब फेसन बनेको छ। पुरानो पुस्ता आफ्नै कथा लेख्न र इतिहासको श्रेय खोज्दै व्यस्त छ, मानौँ भुटानको युद्ध जितेर युवालाई वेस्टर्न सोफा उपहार दिए जस्तो..!"

दीपक काका यस्तै गरी आफ्नो अनुभव, एक विस्थापित जीवनका सौन्दर्य र संघर्षहरू, हराएका तर हृदयमा बसेका स्मृतिहरूको गनगन र गाथा सुनाउँदै थिए…।

कार्यक्रममा युवाहरू भावुक थिए। त्यहीबीच, रश्मी उठिन्। उनले स्पष्ट शब्दमा भनिन् :

"हामीले भूटान देखेका छैनौँ। तर यसको पीडा रगतमा छ। सामाजिक सञ्जालमा भावना बेचेपनि न्यायका लागि कूटनीति र शिक्षा नै चाहिन्छ।"

उनले पुरानो पुस्तालाई अन्धाधुन्ध श्रेय दिनु र व्यक्तिगत इतिहासलाई महानता बनाउँदै लेख्ने चलनमाथि प्रश्न उठाइन्। साथै, पुरानो पुस्तामाथि दोष थोप्ने परिपाटीलाई पनि उनले चुनौती दिइन्। उनले थपिन् :

"तपाईँहरू भन्नुहुन्छ हामीले पुनर्वासको मौका दिलायौँ तर भुल्नुभयो तपाईँहरूकै कारण धेरैले आफ्नै जन्मभूमि गुमाएको?"

रश्मीको सन्देश स्पष्ट थियो। पीडा पनि साँचो हो। पुनर्स्थापनाको मौका पनि। तर दोषारोपणले भविष्य अझै बिगार्छ। हामीले इतिहास लेख्नुपर्छ केवल सम्झनामै होइन साँचो तथ्यमा आधारित भएर।

रश्मीले एउटा उदाहरण दिइन् :

"कसैको पीडा सामाजिक सञ्जालमा पोस्ट गरियो, लाइक र ट्रेन्डका लागि प्रयोग गरियो। तर ती स्वर मौन थिए, पीडाले गिज्याइएका थिए…।"

उनले जोड दिइन् :

"अब हामी केवल कथा सुन्ने होइन, लेख्ने पुस्ता बन्नुपर्छ। सत्यले अभिनय गर्दैन। यो आँटले बोल्नुपर्छ। र वर्तमानलाई स्वीकार्दै भविष्यको खोजी गर्नु पर्छ।"

कार्यक्रमको अन्त्यमा दीपक काका र रश्मी संवादमा आए। दीपक काकाले पनि स्वीकार गरे :

"हामीले पनि केही गल्ती गरेका थियौँ। तपाईँहरूले सत्य लेख्ने अवसर पाउनु भएको छ।"

अब पुनर्निर्माणको प्रक्रिया सुरु हुनु पर्छ। इतिहास केवल कथा होइन, पाठ्यपुस्तक बन्न पर्ने आवश्यकता आयो। राष्ट्रको झण्डा केवल गर्वको चिन्ह होइन, इमानको प्रतीक बन्नुपर्छ।

दीपक काकाले एती भने पछि कार्यक्रमले नयाँ आयाम लियो। अब विस्थापित अनुभव शिक्षा बन्न लाग्यो। नेतृत्व अभिनय होइन, समझदारी र साहस बन्यो। झण्डा केवल देखाउने वस्तु होइन, इमानदारीको संकेत भयो।

रश्मीले निष्कर्ष दिइन् :

"हामी परिवर्तनको प्रतीक्षा गर्ने पुस्ता होइनौँ। हामी परिवर्तन हौँ। हामी प्रश्न गर्ने पुस्ता हौँ। न्याय खोज्ने हौँ। अब हामी सबैलाई साथमा लिएर सद्भाव र प्रगतिमा अगाडि बढ्नेछौँ। २१औं शताब्दीमा कहिले दुई कदम पछाडि हटेर, त कहिले चार कदम अगाडि बढेर समयसँगै चल्नुपर्छ। यो सबै पुस्ताको लागि राम्रो, पीडारहित र समृद्ध भविष्य निर्माण गर्ने तरिका हुनेछ। सबैको जय होस्। धन्यवाद अनि नमस्ते।"

"सङ्गालो : रिडिङ फर रेजिलियन्स" कार्यक्रमहल भावुक अनि मौन बन्यो।

लेखक: नबिन शर्मा भट्टाई

मजेत्रोमा बेरिएको सपना

बिहानै देखि श्रीराधव र सुनैनाको मुहारमा उज्यालो छाएको छ। पाँच वर्षको लामो समयपछि छोरी घर आउँदैछ। उसलाई पठाउने बेला जति आँसु झरेका थिए त्यति नै आज पनि झलाझल छन् तर ती आँसु खुसीका हुनेछन्।

विगतका दुःख वर्तमानले चिन्छ। आजको उत्साह, हर्ष तथा खुसीलाई पनि भोलिले अझै स्पष्ट परिभाषित गर्नेछ। सुनैना पुराना एल्बम पल्टाएर यही अनुभव गर्दैछ। उसको अगाडि टिनको भत्केको बाकस छ। एउटा एल्बम, त्यहीँ एक तस्वीर, जहाँ चुस्स दाह्री र जुँगाको रेखी बसेको श्रीराधव, ऊ, अनि सानी जानुका छ। तर बाकसमा भएको मजेत्रो, भोटो र तुने टोपी भने खास छन्।

"छोरीले दिएको मफलर खोइ मेरो ?" श्रीराधव कम बोल्छन् तर जति बोल्छन् जानुकाकै बारेमा बोल्छन्। छोरीप्रतिको लगाव देखेर सुनैना बेला-बेला भन्ने गर्थी, "छोरा-छोरीलाई सधैँ बाँधिराख्न सकिन्न। पखेटा लागेपछि सबैले गुँड छोड्छन्। अझ छोरी भनेका त अर्काका घर जाने जात।"

गुँड छोड्ने पन्छीले नै आफ्नोपनको मूल्य जान्दछ। जराको एक त्यान्रो बिरुवामा छोडिदिने हो भने स्वतन्त्र बिरुवा नै छिटो झाँगिन्छन्। जानुकीको आगमन, देश छोडेर बिताएको शरणार्थी जीवन, अभिभावकको प्रेम र संघर्ष, यी जराका त्यान्रातुन्री हुन्।

भुटान छोड्दा आफ्ना गाईवस्तु, खेतबारी, केहीपनि बेच्न पाएनन्। वस्तुहरू भोकले नमरून भनेर दाम्लो खोलिदिने बेला भावविह्वल हुँदै श्रीराधव भन्थे, "तिमीहरू कति स्वतन्त्र, मान्छेलाई लाग्ने सरकार तिमीहरूलाई नलागोस्।"

गोठ मुन्तिर पराल राखेको ठाउँमा नाबालक शिशु रोएको आवाजले सबैको सातोपुत्लो उड्यो। श्रीराधवले आफ्ना पितालाई पुकारे, "ए पिता! हेर्नु त गोठमा कसले बच्चा छोडेछ?" समयको चाप, सरकारको उदी र मुलुकको असुरक्षित स्थितिमा जसले त्यो कर्म गर्‍यो दैवले दह्रो मुटु दिएर पठाएको रहेछ। त्यो रातो मजेत्रोमा बेरिएकी तीन दिनकी बालिकालाई परिवारमा सामेल गराएर सधैँका लागि देश निकाला गर्नु देखि अर्को विकल्प रहेन। यो सम्झना त्यस परिवारको तीतो सत्य हो।

करिब दुई घण्टापछि सिल्भरे रङ्गको टोयोटा-क्याम्रीले डलास अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य लिन्छ।

श्रीराधवलाई सुनैनाको निष्ठाप्रति पूर्ण विश्वास भएपनि सुनैना उनको ह्रास हुँदै गएको स्मरण शक्ति र आत्मबलप्रति दुःखी हुन्छे किनभने कहिलेकाहीँ सुनैनालाई नै नियालेर श्रीराधव भन्ने गर्छन्, "तपाईंलाई कहाँ देखेको हो?"

श्रीराधवको मानसपटलमा अतीत छोटो छ र दिनप्रतिदिन छोटिँदै जाँदैछ। नेपालबाट संयुक्त राज्य अमेरिका आएपछि का सम्झना उनले लगभग गुमाइ सकेका छन्, जुन औषधी नलिएको बेला त झन तीव्र हुन्छ। त्यस अघिका सम्झना श्रीराधवको ध्यान केन्द्रित गर्न र यथार्थतिर फर्काउन सफल हुन्थे। यही प्रयास सुनैना निरन्तर गरिरहन्छे।

"तपाईंलाई थाहा छ जानुकीलाई घरेलु बाजेकामा गोबर लिन पठाएको? सात वर्षकी थिई जानुकी त्यतिबेर।" सम्झना अझै खोल्छे सुनैना, "घरेलु बाजेले गोबर नदिएपछि कति रोएकी थी त्यो। गोबर पाउनकै लागि धेरै पढेर ठूली मान्छे हुन्छु भन्थी।"

श्रीराधव दिल खोलेर हाँस्छन्। सुनैनाका आँखा रसाउँछन् तर मीठो सम्झना र पतिको हाँसोको आडमा आँसु पनि भित्रीबाटो मोडिएर गला अवरुद्ध गर्छ।

घर फर्किंदा जानुका मनोरोग विशेषज्ञ भएको सबै श्रेय बाबुलाई दिँदै भन्छे, "तपाईं दुवैको माया र प्रेरणाको प्रभावले डाक्टर बन्न सकेकी हुँ म।"

"हैन होला,"- श्रीराधवको मुस्कान बल्ल फुट्छ। अनि छोरीलाई जिस्क्याउँदै भन्छन्, "घरेलु बाले गोबर नदिएको प्रभावले होला।"

साँझपछि एक पूर्ण परिवार आफ्नो गुँड फर्कन्छ तर श्रीराधवको बिर्सेको अतीत, सुनैनाको रातो मजेत्रो, र जानुकाको सपना समेटिन अझै बाँकी नै छ।

सन् २०२४, अगस्ट २१

Create your website for free! This website was made with Webnode. Create your own for free today! Get started